४ कार्तिक २०८३, बुधबार

करोडपति ड्राइभरसँग यी हाइप्रोफाइलहरूको कनेक्सन, बाराको दुर्घटना लुकाउन दवाव

43.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विमल योगी

काठमाडौं, ४ फागुन । बारा जिल्लामा सशस्त्र प्रहरीका नायब उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु र प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाइते हुने गरी भएको जिप दुर्घटनाबारे विभिन्न खालका तथ्यहरू बाहिर आउन थालेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको विगत तीन हप्तादेखि होस खुल्न सकेको छैन । काठमाडौंको ग्राण्डी अस्पतालमा भट्टराईको उपचार भैरहेको छ ।

एसपी पोखरेल र प्रमुख जिल्ला अधिकारी भट्टराई सवार जिप दुर्घटनाका बारेमा विभिन्न खालका समाचार बाहिर आएपछि आफन्तहरूले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दुर्घटनाका विषयमा छानविन गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी भट्टराईका भाई नरेश भट्टराईले जिप चलाउने चालक जगतनाराण राउत कुर्मी र दुर्घटनाका बारेमा छानविन गर्न माग गरे ।

जिप दुर्घटनामा सकुशल रहेका चालक राउतविरुद्ध सशस्त्र प्रहरीका एसपी स्व.पोखरेलका आफन्तहरूले लिखित उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाराले थुनामा राखेको छ ।

गृहसचिव प्रेमकुमार राईले बारामा भएको घटनाप्रति चिन्ता जनाएका छन् । उनले घटनाका बारेमा छानविन गर्न आफूले पहल गरेको भनेर परिवारजनलाई सहानुभूति दिएको जनाइएको छ ।

तर, दुर्घटनाका बारेमा छानविन अगाडि बढाएको छैन । दुर्घटनाको छानविनका बारेमा चासो नदेखाएपछि आफन्तहरूले चिन्ता गरेका छन् । दुर्घटनाको छानविन गर्न आफन्तहरूको माग छ ।

जिल्ला प्रशासन कार्यालय बारामा २३ वर्षदेखि चालकका रुपमा कार्यरत राउतले शंकास्पद गतिविधि गर्दै आएको आरोप छ । चालक राउतले बिचौलियासँग मिलेर ठूला ठूला काण्ड मच्चाएको आरोप छ ।

दुर्घटना हुनु अगाडि चालक राउतले प्रधानमन्त्री केपी ओलीका एकजना सल्लाहकारसँग बारा जिल्लामा आफूले भनेको सिडिओलाई सरुवा गरिदिए निर्वाचनमा खर्च भएको सबै रकम दिने भनेर प्रस्ताव राखेको स्रोतले जनाएको छ । तर, सल्लाहकारले चालक राउतको प्रस्तावका बारेमा के जवाफ दिएका थिए केही बताइएको छैन ।

चालक राउतलाई बचाउनका लागि पूर्वअर्थसचिव शान्तराज सुवेदी, पूर्वप्रमुख जिल्ला अधिकारीहरू माधवराज रेग्मी, बालकृष्ण पन्थी र शंकर कोइरालाले गृहउच्च अधिकारीहरूलाई दवाव दिएको स्रोतले जनाएको छ ।

एउटा चालकलाई बचाउन हाइप्रोफाइ व्यक्तिहरूले उच्च अधिकारीहरूलाई दवाव दिनुको पछाडि के उदेश्य छ भनेर परिवारजनले आशंका जनाएका छन् । सिडिओ भट्टराईका भाई नरेश भट्टराईले हाइप्रोफाइलहरूका बारेमा आफूलाई थाहा नभएको बताए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका आफन्तहरू जिपका चालक राउतलाई कारबाही र घटनाका छानविन गर्न माग गरेर भेट्न पुगेका बेला गृहका उच्च अधिकारीहरूलाई ‘चालक राउत असल मान्छे हो भनेर’ पूर्वसचिव र पूर्वप्रमुख जिल्ला अधिकारीहरूले फोन गरेर बचाउन दवाव दिएको जनाइएको छ ।

बारा जिल्लामा पाँच करोडको नमूना घर बनाएका चालक राउतले वीरगञ्ज र काठमाडौंको अनामनगरमा करीव १५ करोडौँ रुपियाँ पर्ने घर किनेको खुलासा भएको छ । हलुका सवारी चालक राउतले यति धेरै सम्पत्ति कहाँबाट र कसरी आर्जन गरेका हुन् खोजविनको विषय बनेको छ ।

त्यति मात्रै होइन चालक राउतले आफ्नी छोरीको विवाहका लागि ७० लाख दिन लागेको खुलासा भएको छ । राउतले छोरालाई पचास लाख खर्च गरेर अध्ययनका लागि विदेश पठाएका छन् ।

प्रमुख जिल्ला अधिकारी भट्टराई र एसपी पोखरेलले बारा जिल्लामा तस्करीलाई नियन्त्रण गर्नुका साथै बाटो चौडा बनाउनेदेखि विभिन्न राम्रा सुधारका काम गरेपछि स्थानीय तस्करहरूलाई चित्त बुझको थिएन । चालक राउतले पनि प्रमुख जिल्ला अधिकारी भट्टराईलाई तस्करको पक्षमा लागेर सहयोग गर्न दवाव दिँदै आएका थिए ।

भट्टराईले नमानेपछि चालक राउतले ‘म बाराको स्थायी सिडियो हुँ, तपाई अस्थायी सिडियो हो, समय आयो भने तपाईलाई देखाइदिन्छु’ भनेर धम्की दिएको कुरा पनि बाहिर आएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको पूर्वपश्चिम महेन्द्रराजमार्गको पसाहा पुल नजिकै माघ १२ गते राउतले चलाएको जिप ट्याक्टरको ट्रालीमा ठोक्किएको थियो ।

दुर्घटनामा एसपी पोखरेलको मृत्यु भएको थियो । सिडिओ भट्टराई गम्भीर घाइते भएका थिए । चालक राउत सामान्य घाइते भएका थिए । दुईजना अंगरक्षक पनि घाइते भएका थिए ।