८ कार्तिक २०८३, आइतबार

घिस्रिँदै साना दल, भारतमा बिउ रोपिएका कांग्रेस–कम्युनिस्ट

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । गत वर्षको चुनावअघि निर्वाचन आयोगमा १ सय २५ दल दर्ता भए । तर, तीन प्रतिशत थ्रेसहोल्ड राखिएपछि चारवटाले मात्र राष्ट्रिय दलको मान्यता पाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले मात्र थ्रेसहोल्ड कटाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेकपा मसाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, विवेकशील नेपाली दल, साझा पार्टीका सांसद स्वतन्त्र हैसियतमा छन् । थ्रेसहोल्डको व्यवस्थापछि दुई पार्टी प्रणाली देखिन सक्ने अनुमान कतिपयले गरिरहेका छन् । तर, अझै अनेकौँ साना पार्टी अस्तित्वमा छन् । पार्टी खुल्ने क्रम पनि रोकिएको छैन । ठुल्ठूला लक्ष्य लिएका तिनको गति भने अत्यन्त सुस्त छ ।

भारतमा बिउ रोपिएका कांग्रेस–कम्युनिस्ट

राणाशासनमा दल खोल्ने र राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सकिन्नथ्यो । सर्वसाधारणलाई पढ्न–लेख्नै प्रतिबन्ध थियो । त्यसैले मुलुकमा परिवर्तन चाहनेहरूले राजनीतिक गतिविधि गर्ने थलो भारत बनेको थियो । बनारस, कलकत्ताजस्ता स्थानमा पढ्न गएका विद्यार्थी संगठित हुन थाले । २००३ सालमा देवीप्रसाद सापकोटाको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस खुल्यो भने २००५ साउनमा सुवर्णशमशेरको नेतृत्वमा नेपाली प्रजातन्त्र कांग्रेस ।

एक नभई जहानियाँ शासन फाल्न सकिन्न भन्ने भएपछि दुवै कांग्रेस एक भए । २००६ चैत २७ गते कलकत्तामा एकता महाधिवेशन गरी नेपाली कांग्रेस गठन गरियो । एकीकृत पार्टीको सभापति बिपी कोइराला बने । पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र निरञ्जनगोविन्द वैद्यले कलकत्तामै २००६ साल भदौ ३० गते नेपाल कम्युनिस्ट पार्टी गठन गरे ।

तर, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि पार्टीहरू धमाधम फुटको सिकार हुन थाले । फुट्नेमा कम्युनिस्टहरू अगाडि छन् । त्यसपछि अनेकौँ पार्टीको जन्म भयो ।

महाधिवेशनको चटारोमा मसाल

यो पार्टी ०४२ सालदेखि नै मोहनविक्रम सिंहको नेतृत्वमा छ । कुनै निर्वाचन बहिष्कार त कुनैमा भाग लिँदै आएको यो पार्टीले नामसमेत फेर्दै आएको छ । अहिले यो पार्टी आठौँ महाधिवेशनको तयारीमा लागेको छ । पार्टीको संगठन सुदृढीकरण, प्रशिक्षण, भेलालगायतका गतिविधि भइरहेको नेता समीर सिंहले बताए । पार्टीमा चीन, भारतजस्ता उदाउँदा शक्तिलाई साम्राज्यवादी भन्ने कि नभन्ने, पार्टीको आगामी कार्यदिशा के हुने भन्नेमा छलफल चलिरहेको उनको भनाइ छ ।

नेमकिपाले बिजुक्छेको उत्तराधिकारी पाउला ?

०१४ सालदेखि नेपाल कम्युनिस्ट पार्टीका सदस्य भएका नारायणमान बिजुक्छे ०३१ सालमा नेपाल मजदुर किसान संगठन खुलेदेखि नै नेतृत्वमा छन् । २०४७ सालमा यसलाई पार्टीको स्वरूप दिइयो । निरन्तर संसदीय निर्वाचनमा भाग लिए पनि सधैँ प्रतिपक्षको भूमिकामा यो पार्टी देखिन्छ । आगामी चैत १ गतेदेखि हुने सातौँ महाधिवेशनका लागि पार्टी सदस्यता नवीकरण, संगठन सुदृढीकरण, जनपरिचालनबारे छलफल भइरहेको नेता प्रेम सुवालले बताए । गत निर्वाचनमा उम्मेदवारी नदिएका बिजुक्छेले नेतृत्व छाड्न सक्ने अनुमान गरिँदै छ ।

संगठन सुदृढ बनाउँदै माले

२०५४ साल फागुन २१ गते वामदेव गौतमले एमाले पार्टी फुटाएर नेकपा माले गठन गरे । २०५६ सालको निर्वाचनमा शून्य भएपछि पुनः २०५८ सालमा गौतमसहितका नेता पुरानै पार्टी फर्किए । तर, सिपी मैनालीको नेतृत्वमा केही नेताले अलग्गै पार्टी घोषणा गरे । यो पार्टी अहिले संगठन सुदृढीकरणमा लागेको महासचिव मैनालीले बताए । ‘निर्वाचनलगायत विभिन्न कारणले पार्टी छाडेका नेताको ठाउँमा नयाँ नेता नियुक्त गर्दै छौँ,’ उनले भने । मुद्दा मिल्ने पार्टीसँग कार्यगत एकता गर्दै अगाडि बढ्ने मैनालीले बताए ।

विभाजित चार माओवादीको आ–आफ्नै ताल

नेकपा क्रान्तिकारी माओवादी, पुनर्गठित माओवादी केन्द्र, नेकपा विप्लव समूह र आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालजस्ता माओवादी फुटेर बनेका पार्टीहरूको राजनीतिक उपस्थिति कमजोर देखिन्छ । उनीहरूको लक्ष्य र कार्यदिशा पनि स्पष्ट छैन । विप्लव समूह भूमिगत छ । गोपाल किराती नेतृत्वको नेकपा माओवादी पनि सांगठनिक रूपमा कमजोर छ ।