
काठमाडौं, १ फागुन । २४ औँ जनयुद्वदिवसको अवसर पारेर जनयुद्वका घाइते, अपाङ्ग तथा वेपत्ता व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर सरकारले आफूसँग गरेका सम्झौताहरुलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ ।
मेडिकल बोर्ड तथा शान्ति समितिकोे सिफारिसमा परेका घाइतेहरुलाई तत्काल उपचारार्थ विदेश पठाइनुपर्ने, घाइते परिषद तत्कालै खारेज गरि जीवननिर्वाह भत्तासहित सामाजिक सुरक्षामा वृद्धि हुनेगरि तत्काल नयाँ समितिको गठन हुनुपर्ने, घाइतेहरुले पेश गरेको बिल भरपाई तुरुन्त लागू गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ ।
कार्यक्रममा जनयुद्वका घाइते रमेश कालिकोटेले सरकारले आफूहरुसँग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति छ ।’ सरकारले घाइते तथा शहीदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफूहरुलाई अधिकारबिहिन बनाएको उनको आरोप छ ।
यस्तै, घाइते अपाङग तथा वेपत्ता संघ ३ नं. प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहनकुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफूहरुको पीडा नसुनेको आरोप लगाए । सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उनको आक्रोश छ ।
त्यस्तै, जनयुद्वका शहीद परिवारका सदस्य ज्योतीकिरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए । दलाललाई खुशि पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई रहेको थियो ।
यसैगरी, महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहीदको राज्यले अपहेलना गरेको गुनासो पोखिन् । उनले भनिन्, ‘एकाध व्यक्तिको प्रगति देखेर हाम्रा सपना पूरा हुँदैनन्, आजको दिन ती महान शहीदहरुको हो जसले आफ्ना बिचार बेचेनन् ।’












प्रतिक्रिया