
काठमाडौं, १ फागुन । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न लागौं’ भन्ने मूल नारासहित सुरु भएको हनुमन्ते नदी सफाई अभियान यही फागुन ४ गते ५१ औँ हप्तामा प्रवेश गरेको छ ।
बुधबार हनुमन्ते नदी सफाई ५१ औँ हप्ता मूल समारोह समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको विशिष्ट आतिथ्यतामा यही फागुन ४ गते भव्यरुपमा मनाइने जानकारी गराएको हो ।
भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ उनकै पहलमा सूर्यविनायक नगरपालिकाको संयोजकत्वमा शुरु भएको सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा राज्यको विना लगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको छ ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले सफाई अभियान झण्डै एक वर्षको यो अवधिमा आफूहरुले हनुमन्ते नदी सफाईको धेरै काम गरेको जनाए । उनले राज्यको बिना लगानी यो अभियानलाई आज ५१ औं हप्तासम्म पुर्याउन सफल भएको पनि दाबी गरे । उनले भने, ‘हामी डिजास्टरको अन्त्य र डेभलपमेन्टको सुरुवात गर्छौं ।’
बस्नेतले कोरिडोरको शिल्यान्यास गरेको दुई महिनाभित्रै बिना विवाद काम द्रुत गतिमा भैरहेको जनाए । उनले विकास निर्माणमा सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘त्यही भएर हामीले पर्सीको ५१ औं हप्ताको कार्यक्रममा प्रचण्ड र प्रकाशमानज्यूलाई बोलाएका हौं ।’
कार्यक्रममा सफाइ अभियानका संयोजक एवम् सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा हुनमन्ते नदी सफाई ५१ औं हप्ता तयारी मूल समारोह समितिका संयोजक मधु ढुङ्ेल, नवराज काफ्ले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।












प्रतिक्रिया