काठमाडौं, १ फागुन । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् । आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेका छन् ।
कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । ‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने ।
क्याम्पस सञ्चालनका लागि एक वर्षअघि मञ्जुश्री एकेडेमीनामक कम्पनी स्थापना गरिएको थियो । पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अध्यापकलगायत ६९ जना मिलेर सुरुमा कलेज चलाउने र पछि त्यसलाई कानुन विश्वविद्यालयका रूपमा विकास गर्ने सहमति भएको थियो । टिमको नेतृत्वकर्तामध्ये एक अधिवक्ता सिवाकोटी पनि थिए । पैसा उठाउने मुख्य जिम्मा उनैले लिएका थिए ।
‘धेरैजनासँग उहाँले नै पैसा उठाउनुभयो,’ जाहेरीकर्ता सेयरधनी सुरेन्द्रप्रसाद कोइरालाले भने, ‘क्याम्पसका लागि जग्गा किन्न र कम्पनीअन्तर्गत नै स्कुल चलाउन भनेर सबै पैसा उहाँले लिनुभयो, उहाँजस्तो प्रतिष्ठित मान्छेले यस्तो काम गर्नुहोला भन्ने लागेकै थिएन, अहिले समस्या भयो ।’
अधिवक्ता सिवाकोटीले भने आफूले लिएकोमध्ये धेरै रकम साथी बद्रीकुमार थापालाई दिएको बताएका छन् । थापाविरुद्ध यसअघि नै कम्पनीले उच्च अदालत पाटनमा चेक अनादार मुद्दा दायर गरिसकेको छ । उनले कम्पनीलाई एक करोड ६ लाखको चेक दिएकोमा बाउन्स भएपछि मुद्दा दायर भएको थियो । पटक–पटक छलफलमा बोलाउँदा पनि पैसा फिर्ता नदिएपछि ठगी मुद्दामा जाहेरी दिइएको कोइरालाले बताए ।















प्रतिक्रिया