शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

पुलिस रिपोर्ट : अब छैन सास्ती

दैनिक नेपाल २०७५ माघ २९ गते ६:५२

काठमाडौं, २९ माघ । ‘अघिल्लो पटक आउँदा घन्टौं लाइनमा बस्नु पर्थ्यो। प्यास लाग्दा पानी समेत पाइँदैन थियो। घामले पोल्थ्यो। तर अहिले एकदम राम्रो छ।’

रानीपोखरीस्थित महानगरीय प्रहरी परिसरमा चारित्रिक प्रमाणपत्र लिन पुगेकी दिलमाया थापाले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘पहिला एकदमै सास्ती थियो। अहिले ठिक छ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

विदेश जान पुलिस रिर्पोट चाहिन्छ। नेपालमै पनि कतिपय निजी कम्पनीले कामदारको चरित्रसम्बन्धी प्रमाणपत्र माग्न थालेका छन्। यसअघि राजधानीको रानीपोखरी र महाराजगञ्जमा मात्र पुलिस रिपोर्ट बनाउने सेवा पाइन्थ्यो। अहिले कालिमाटी, गौशाला, जावलाखेल र भक्तपुरबाट पनि बनाउन मिल्छ। त्यसैले पहिलेजस्तो भीड देखिँदैन।

उपत्यकाबाहिर पोखरा, हेटौंडा, विराटनगर, नेपालगञ्ज र धनगढीबाट पनि प्रहरी रिपोर्टका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। विदेशमा बस्ने नेपाली नागरिकले समेत इमेलमार्फत सेवा लिने व्यवस्था भएपछि सास्ती घटेको छ।

बिहान ९ :३० बजे। महानगरीय प्रहरी वृत्त, गौशाला। कार्यालय खुल्नुअघि नै १०/१२ जना सेवाग्राही आइसकेका थिए। ती प्राय : तन्नेरी पुस्ताका र मधेसी मूलका देखिन्थे। धनुषाका रामविश्वास रजक प्रहरी वृत्तअघि उभिरहेका थिए। उनले दुई दिनअघि फारम भरेर बुझाएका थिए। कतार जान लागेका उनी पुलिस रिपोर्ट चाँडै बनेकोमा खुसी देखिन्थे। भन्दै थिए, ‘दुई दिनमै बन्ने भयो। खुसी लागिरहेको छ।’

धनुषाकै जासुद्दिन राय पनि कार्यालय नखुल्दै पुगे। उनी साउदी अरब जान लागेका थिए। ८ महिनाअघि पनि उनी पुलिस रिपोर्ट बनाउन रानीपोखरी पुगेका थिए। त्यहाँ घन्टौं लाइन बसेर बल्लबल्ल बनाएका थिए। वर्षदिन नबित्दै प्रशासनिक काममा सुधार होला भनेर उनले सोचेकै थिएनन्। भने, ‘पहिलेभन्दा धेरै फरक भएछ। धेरै कुर्नै परेन।’

नुवाकोटका धर्मराज बोगटी पनि पहिलाको तुलनामा धेरै सुधार भएको ठहर्‍याउँछन्। जिल्लाबाटै प्रहरी रिपोर्ट लिन पाउने व्यवस्था भए झनै राम्रो हुने उनको भनाइ छ। सिरहाका रञ्जितकुमार साहले भने, ‘हिजोआज एकैछिनमा सबै काम हुन्छ।’ उनले एक हप्ताअघि फारम बुझाएर घर गएका थिए। उनलाई दुई दिनपछि आउनु भनिएको थियो। तर, उनी आउन भ्याएनन्। आइतबार कार्यालय पुग्दा रिपोर्ट तयार भइसकेको थियो। ‘अरु सरकारी कार्यालय भएको भए पैसा खुवाउनु पथ्र्याे होला,’ उनले खुसी हुँदै भने, ‘तर यहाँ केही गर्नु परेन।’ कार्यालय खुलेको १० मिनेटमै प्रमाणपत्र लिएर उनी बाहिरिए।

सर्लाहीका देवीकुमार यादव दुई दिनमै चारित्रिक प्रमाणपत्र हात लागेपछि दंग देखिन्थे। विगतजस्तै लामो लाइन होला भन्ने ठानेर उनी एक हप्ताको समय राखेर काठमाडौं आएका थिए। ‘यहाँ झन्झट नै भएन,’ उनले भने।

९ :५४ बजे कार्यालय खुल्यो। सेवाग्राहीको भीड थिएन। दैनिक दुई सय सेवाग्राहीले पुलिस रिपोर्ट लिने गरेको एक प्रहरी जवानले बताए।

बिहान ११ :१५ बजे। महाराजगञ्जस्थित पुलिस रिपोर्ट दिने कार्यालय पुग्दा करिब ५० जना सेवाग्राही अस्थायी टहराअघि लाइन लागेका थिए। गौशालाको तुलनामा महाराजगञ्जमा अलि बढी भीड थियो। कार्यालय व्यवस्थित थिएन। थोत्रा मोटरसाइकलको डंगुर कार्यालयअघि थियो। नागरिक बडापत्रनजिकै भित्तामा लेखिएको थियो–दलाल होसियार !

प्रतिक्रिया
सम्बन्धित