सोमबार, २८ माघ २०७५
DainikNepal.com
सोमबार, २८ माघ २०७५

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका नवनिर्वाचित अध्यक्ष सेन सम्मानित

दैनिक नेपाल २०७५ माघ २८ गते २१:२६

–मिना बुढाथोकी
सल्यान, २८ माघ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका कपुरकोट गाउँपालिका सल्यानका प्रमुख भिमबहादुर सेनलाई बधाई तथा सम्मान गरिएको छ । कपुरकोट गाउँकार्यपालिकाको सोमबारको बैठकमा अध्यक्ष सेनलाई सम्मान गरिएको हो ।

उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृतसुवाश रिजालसहित सम्पूर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । सो अवसरमा बोल्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका नवनिर्वाचित अध्यक्ष सेनले आफ्नोलगायत कर्णालीका सबै गाउँपालिकाको विकास र समृद्धिका लागि प्रदेश सरकारसँग समन्वय बढाएर अघि बढ्ने बताए ।

७९ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका प्रतिनिधीहरु सहित सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्पन्न भएको अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरिएको थियो ।

समितिको उपाध्यक्षमा जंगबहादुर शाही (दैलैख), सचिव खड्गराज सेजुवाल (कालीकोट), कोषाध्यक्ष महेन्द्रबहादुर शाह (जाजरकोट) र सहसचिवमा शिवा आर्चाय (जाजरकोट) रहेका छन् ।

यस्तै सदस्यमा निर्मला राना, निर्मला विष्ट, धीरबहादुर विष्ट, जयानन्द रावल, सविता कुमारी रोकाया, हिमाली रोकाया, बली रावत र सीता ज्ञवाली रहेका छन् । नेकपाका कर्णाली प्रदेश कमीटीका सदस्य समेत रहेका कपुरकोट गाउँपालिकाका प्रमुख सेन गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशको अध्यक्षमा निर्वाचीत भएपछि आफ्नो स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने कपुरकोटका जनप्रतिनिधीहरुको अपेक्षा छ ।

यसैविच कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन मंगलबार हुने भएको छ । अधिवेशनको तयारिको लागी सोमबार कार्यपालिकाको बैठक समेत बसेको सूचना अधिकारि जीवराज केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित