मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

दोस्रो पुस्ताको नेतृत्वमा गगन थापा सभापति कि महामन्त्री ?

दैनिक नेपाल २०७५ माघ २७ गते १४:४४

काठमाडौं, २७ माघ । गोरखा पुगेर नेपाली कांग्रेसका युवा नेता गगन थापाले भने– उस्तै परे म सभापति लड्छु ।

उनको यो भनाईसँगै जोडिएको थियो– अबको महाधिवेशनमा पहिलो पुस्ताका नेताले विदा लिनुपर्छ । गगनले सार्वजनिक कार्यक्रममा मात्र होइन, पार्टीका विभिन्न बैठकमा पनि ७० बर्ष नाघेपछि राजनीतिबाट विश्राम लिनुपर्ने बताउँदै आएका छन् ।

तर, कांग्रेसको सभापति पद यति लोभलाग्दो बनिदिन्छ की नेताले आजीवन पाए पनि बसीरहुँ लाग्ने । त्यसैले सभापति शेरबहादुर देउवा विभिन्न गुट र उपगुट विभाजित बनाएर पनि अर्को कार्यकालको तयारीमा जुटेका छन् ।

त्यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि फकाइसकेका छन् । पार्टीभित्रको विपक्षी पौडेलले कोइराला पक्षको नेतृत्व गरी १३ औं महाधिवेशनमा सभापति पदमा उत्रिए पनि दोस्रो राउन्डमा पराजयको सामना गर्न परेको थियो ।

कस्तो बन्दैछ समिकरण
कांग्रेसको आगामी महाधिवेशनको मिति टुंगो लाग्नु अघि नै विभिन्न खाले समिकरण तयार भइसकेका छन् । यो समिकरण कोइराला परिवारलाई नेतृत्वमा ल्याउनका लागि सुजाता कोइरालाले तयार पारेकी थिइन् ।

उनले विभिन्न गुटमा छरिएर रहेका र सभापति देउवाविरुद्ध बलियो प्रहार गर्न नसकेका नेताहरूलाई एकत्रित पारिन् । प्रकाशमान सिंह, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापालगायतका नेता मण्डिखाटार बैठकमा उपस्थित भएका थिए ।

यो समूह सभापति देउवाविरुद्ध आगामी महाधिवेशनमा महागुटका रूपमा उदाउने तयारीमा पनि छ । पौडेललाई भने केही समयका लागि प्रधानमन्त्री बनाउने सर्त राखिएको स्रोतहरूको दाबी छ । पौडेल उक्त समूहमा नआए पनि उनले सभापति नपाउने विश्लेषणका आधारमा दोस्रो तहका नेताको महागुट तयार भएको थियो ।

गगन सभापति कि महामन्त्री ?
एक्लै हिँडेर कहीँ पुगिन्न भन्ने थाहा पाएका गगन थापा १४ औं महाधिवेशनमा भने महामन्त्रीमा निर्वाचित हुने तयारीमा छन् । त्यसका लागि महागुटले सभापतिमा शेखर कोइराला र महामन्त्रीमा थापालाई उठाउने प्रारम्भिक सहमति पनि गरेको थियो ।

तर, थापाको खास गुट भने सिटौलाको हो । यदि सिटौलाले सभापतिमा उम्मेदवारी दिन चाहे, उनी सोही गुटबाट पुन १३ औं महाधिवेशनकै जस्तो महामन्त्रीमा उम्मेदवारी दिन बाध्य हुनेछन् ।

महासमिति बैठक सकेपछि धारणा राख्ने क्रममा सिटौलाले ‘सभापति’ पदमा उठ्न सक्ने संकेत गरेका थिए । तर, सुजाताको प्रयास सफल बन्नेतर्फ जाने हो भने सिटौलालाई कांग्रेसका तर्फबाट राष्ट्रपति वा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी पनि भएको छ ।

बाँकी पदमा भने बरिष्ठताका आधारमा नेताहरूले उप सभापति पदमा बस्ने एक किसिमको सहमति बनेको बताइन्छ । तर, कांग्रेस स्रोत भन्छ,‘यो अहिलेसम्मको तयारी हो, हाम्रा नेता अस्थिर छन् । मौका पाउनासाथ यस्ता सहमति कहाँ पुग्छन् थाहा छैन ।’

कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने नै विवाद छ ।

प्रतिक्रिया
सम्बन्धित