शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

भीम रावलले गरे नेकपाभित्र ठूलो अनिष्टको संकेत, बालुवाटार र खुमलटारमा खैलाबैला

दैनिक नेपाल २०७५ माघ २७ गते ९:५४

काठमाडौं । भेनेजुएला प्रकरण सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पेचिलो बन्दै गरेका बेला नेता भीम रावलको पछिल्लो प्रतिक्रियाले विभिन्न आशंकाहरू उब्जाइदिएको छ ।

नेकपाका प्रभावशाली नेता रावलले पार्टीभित्र ठूलो जोखिम उत्पन्न भएको समेत बताएका छन् । रावलले साना घटनाहरूले कम्युनिस्ट पार्टीहरू विभाजन भएका उदाहरण दिँदै नेकपाभित्र संकटहरू रहेको बताएका छन् ।

रावलले कम्युनिस्ट पार्टीहरू सामान्य विषयमा पनि टुटफुट भएको स्मरण गराएका छन् । उनको यो अभिव्यक्तिले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब बढाइदिएको छ ।

नेता रावलको ट्वीटले नेकपाका ठूला नेता र कार्यकर्ताहरूमा चिन्ता बढाइदिएको छ । उनले देश र वर्तमान सरकारको बारेमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिस्ट पार्टी विभाजन भएको उदाहरण दिएका छन् ।

रावलले पार्टी समायोजन गरेर छिटोभन्दा छिटो काम गरी विभाजनको पीडाबाट बच्न सुझाव दिएका छन् ।

‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुद्धिमानी कार्य ठहरिनेछ’, उनले भनेका छन् ।

भेनेजुएलाको समर्थन गर्दै दोस्रो तहका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेपछि उत्पन्न भएको विवादले साम्य हुने संकेत गरेको छैन ।

पछिल्लो समयमा ओली र दाहालबीच सार्वजनिक रुपमै एकले अर्काको आलोचना हुन थालेको छ । भेनेजुएला प्रकरणले बालुवाटार र खुमलटारबीच दूरी बढ्दै गएको छ । यो अवस्था रह्यो भने नेकपाभित्र अनिष्ट हुने रावलको चिन्ता छ ।

प्रतिक्रिया
सम्बन्धित