शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

पार्टीभित्र ओलीविरुद्ध यसरी खेल्दैछन् प्रचण्ड

दैनिक नेपाल २०७५ माघ २५ गते १४:३९

काठमाडौं, २५ माघ । डा. गोविन्द केसीको सत्याग्रह प्रकरणमा सबैभन्दा बढी बोलेका नेकपा युवा नेता योगेश भट्टराईले नेकपा प्रदेश कमिटीलगायतलाई पूर्णता दिनका लागि बनाइएको रामबहादुर थापा बादल संयोजकको कार्यदलमा पनि फरक मत राखे ।

भट्टराईको यो सक्रियता प्रत्यक्ष देखिए पनि यसमा परोक्ष स्वार्थचाहीँ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देखिन्छ । आजभोली भट्टराई माधवकुमार नेपाल कित्ता छाडेर प्रचण्डनजिक छन् । यसैकारण पनि डा. केसीको सत्याग्रहका बेला दुर्गा प्रसाईको हितमा उनी जोडतोडका साथ उभिएका थिए । प्रसाईले ओली र प्रचण्डलाई घरमा खाना खुवाए पनि सम्बन्ध प्रचण्डसँग नजिक रहेको छ । प्रचण्डका हरेक घरेलु काममा पनि प्रसाईको सहयोग रहँदै आएको छ ।

कार्यदलको प्रतिवेदनमा सोही कमिटीमा रहेका भट्टराईको फरक मत पर्नुको कारणचाहिँ नाम थप्ने र संशोधन गर्ने हो । अर्थात् प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कायम गरेका नाम काट्नुपर्ने उनको अडान छ । त्यो अडानका लागि पार्टी कमिटी र प्रदेश सरकारको जिम्मेवारी दुवै दिन नहुने तर्क अघि सार्दै आएका छन् ।

लगभग प्रदेश सभा सदस्यको नाम बहुमतले आइसकेको थियो । त्यसमा नेता माधवकुमार नेपालले आपत्ति जनाउँदा पनि अनुमोदन भइसकेको थियो । तर, सुसुप्त ढंगले समग्रमा १० प्रतिशत सदस्य थप्नुपर्ने प्रचण्ड रणनीतिलाई कार्यान्वयन गराउनका लागि भट्टराईको फरक मत र विवादीत तर्क आएको बताइएको छ ।

प्रचण्डलाई कसरी फाइदा ?

प्रदेश कमिटी गठनका बेला तत्कालिन एमाले र माओवादीको कित्ता प्रस्ट नै देखिएको थियो । सदस्यको नाम सार्वजनिक गर्दा पनि तत्कालिन एमाले र माओवादीका शीर्षकै राखेर नेताको नाम लेखिएको थियो । अहिले कार्यदलमा देखाइएको विवादमा तत्कालिन माओवादीलाई खासै असर गर्दैन, यो विवाद देखाएर प्रचण्डले ओलीइतरमा तत्कालिन माओवादीको संख्या प्रतिशतका आधारमा थप्ने तयारी गरेका हुन् ।

यसरी थप्दा पूर्वएमालेबाट मात्र नभई पूर्वमाओवादीबाट पनि थप्नुपर्ने अडान कार्यदलका अन्यले राख्नेछन् । यसो हुँदा रुष्ट रहेका कतिपय कार्यकर्तालाई जिम्मेवारीमा समेट्न सकिने प्रचण्ड रणनीति छ, त्यसैलाई भट्टराईको आवरणमा मलजल पुगिरहेको ओली नजिकका पूर्वएमालेहरू बताउँछन् ।

मैदानमै देखिए

त्यसो त पार्टीभित्र ओलीविरुद्धको खेलमा प्रचण्ड एकाध विषयमा मैदानमा नै आए । खासगरी भेनेजुएला प्रकरणमा अध्यक्ष ओलीले चिप्लिएको भनी दिएको अभिव्यक्तिमा काउन्टर जवाफ दिँदै ‘पार्टीले निर्णय गरिसकेको, व्यक्तिका भनाईले तुक छैन’ भन्नु एउटा प्रयोग थियो ।

अर्को, एमालेभित्रका भेट्रान भनिने नेताहरूको गठजोड बनाएर त्यसको परोक्ष नेतृत्वमा ओलीविरुद्धको प्रहारमा उनी सक्रिय भए । यसको मौका भेनेजुएला प्रकरणको विज्ञप्ति जारी गर्नुपूर्व ललितपुरको जावलाखेल बैठक थियो । उनले गोप्य भेला राख्दै माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई आफूतिर ढल्काएका छन् । त्यसैले हतारमा निर्णय गराइदिए । उक्त विज्ञप्तिलाई सचिवालयमा पनि बहुमतले मात्र पारित गरेको थियो । जसमा ओलीले विज्ञप्ति कडा भएको भनी तर्क राखेकै थिए । अल्पमतमा परेका कारणले सच्याउने ठाउँ पाएनन् ।

बालुवाटारको मौनता र एकल अध्यक्षको प्रस्ताव

पार्टी सचिवालयको बैठक बालुवाटारमा राखी केही ओली र प्रचण्ड केही ढिलो पुग्दा नेता नेपाल, खनाल, गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका थिए । उनीहरूले आगामी दिनदेखि पार्टी कार्यालय धुम्बाराहीमा बैठक राख्नुपर्ने अडान कायम राखे ।

सोहीअनुसार धुम्बाराहीमा बैठक डाकियो, बैठकको सुरुआतमा नै नेता गौतमले पार्टीमा एकल अध्यक्ष हुनुपर्ने अडानसहितको लामो प्रस्तावलाई दर्ज गराए । सो विषयमा लामो छलफल पनि चलेको थियो । बहिस्कारका बेला प्रचण्डको मौनता र गौतमको अर्को प्रस्तावमा उनको नेपथ्यको स्वीकारोक्ति थियो ।

चुनाव आउनुपूर्व देउवा सरकारमा रहेका बेला माओवादीको सतह नै सक्किने सम्भावना देखेपछि प्रचण्डले तत्कालिन एमालेसँगको गठजोड र एकताको प्रसंग कोट्याएका थिए । लगभग पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको जनमत गिरेको रुझान आउनसाथ प्रचण्ड नेकपा एकीकरणको प्रस्ताव र त्यसैको जगमा संगठीत तत्कालिन एमालेको नेतृत्व हात पार्ने दिर्धकालिन मनसाय लिएर हिँडेका थिए । जसका प्रभावहरू यसबेला अनेक विषय र अनेक नेताका माध्यमबाट देखिन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित