बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

श्रेष्ठसँग आर्थिक लेनदेख नरहेको क्लब डेजाभूको स्पष्टोक्ति

दैनिक नेपाल २०७५ माघ २४ गते १९:४१


काठमाडौँ, २४ माघ । काठमाडौँको दरबारमार्गमा सञ्चालनमा रहेको डेजाभू लाउञ्ज कुनै लेनदेनमा संलग्न नरहेको सञ्चालकहरुले जनाएका छन् ।

बिहिबार लाउञ्जमै आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका प्रबन्धक कृष्ण श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा डेजाभू लाउञ्जको नाम जोडेर गलत समाचारहरु सार्वजनिक भएकोमा दुःख लागेको बताए ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा जनाइए अनुसार डेजाभूको विश्वराम श्रेष्ठसँग कुनै लेनदेन तथा कारोबार छैन । ‘स्वयं विश्वरामले डेजाभूसँग आवद्ध मनोज श्रेष्ठसँग मिलेर हुँदै नभएको कारोबारमा चेक लिएकाले त्यसबारेमा डेजाभू लाउञ्ज कम्पनी तथा यसका अन्य शेयरधनी सञ्चालकहरु जिम्मेवार छैनन्’, विज्ञप्तीमा उल्लेख छ ।

डेजाभू लाउञ्ज कम्पनीका प्रवक्ता राजेश मल्लले कम्पनीको नियमावली अनुसार समेत यस कम्पनीले व्यक्तिगत रुपमा ऋण लिने प्रावधान नरहेको जनाए ।

‘मनोज श्रेष्ठ र विश्वराम श्रेष्ठले गलत नियतले यस कम्पनीलाई अफ्ठ्यारो पार्ने नियतले गरेको काम कारवाहीका विरुद्ध कम्पनी स्वयंले विश्वरामविरुद्ध ठगी, अपराधिक तथा विश्वासघात कारोबार गरेकाले थुनेर कारवाही गरी पाउँ भनी यसअघि नै जोहेरी दर्ता गरिसकिएको छ’ प्रवक्ता मल्लले भने, ‘स्वयं विश्वराम श्रेष्ठले आफूले गरेको कारोबार गलत भएकाले आफैले हालेको मुद्दा आफैले प्रमाणित गर्न सक्दिन भनि कायलनामा गरी उच्च अदालत, पाटनबाट मुद्दा समेत फिर्ता लिइसकेका छन् ।’

लाउञ्जका प्रबन्धक श्रेष्ठले कम्पनीले हालसम्म व्यक्तिगत रुपमा कुनै पनि ऋण लिन नपाउने तथा नलिएको स्पष्ट पार्दै भनेका छन्–‘यो कम्पनी प्रक्रियागत ढंगले कानूनी रुपमा सञ्चालित संस्था हो ।’

आफूले गरेको अपराधबाट जोगिन र कम्पनीका शेयरधनीहरुलाई आलोचना गर्दै प्रहरीहरुको समेत नाम समावेश गरी गलत मनशायले विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएकोमा त्यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहेको लाउञ्जद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आफूले गरेको ठगीजन्य अपराधिक कार्यबाट जोगिन तथा लेनदेन बिना नै आफ्नो साथीसँग लिएको फर्जी चेकको रकम केही गरी साट्न सकिन्छ कि भन्ने मनशायले विभिन्न सञ्चारमाध्यमहरुमा डेजाभू क्लबको शाख गिराउने तथा कम्पनीलाई बदनाम गर्ने तथा गलत मनशायले विभिन्न प्रहरी अधिकृतहरुको नाम जोडेर समाचारहरु प्रकाशित भएकोमा त्यसउपर समेत कम्पनीले कानून बमोजिम कारवाही बढाएको जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित