शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

प्रचण्ड–नेपाल सम्बन्ध : पहिले विष वृक्ष, अहिले कल्प वृक्ष !

दैनिक नेपाल २०७५ माघ २४ गते ११:४३

काठमाडौं, २४ माघ । तत्कालिन एमाओवादी नेतृत्वको सरकार गिर्नासाथ पहिलो संविधानसभामा संवैधानिक सभापति पदबाट राजीनामा दिएर प्रधानमन्त्रीको कुर्सी समात्न पुगे (हालका नेकपा) नेता माधवकुमार नेपाल ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाल सरकारलाई घेराबन्दी बनाउनका लागि आन्दोलनको घोषणा भयो । त्यो आन्दोलनलाई प्रचण्डले ‘नागरिक सर्वोच्चता’ र ‘राष्ट्रिय स्वाधिनता’को संज्ञा दिएका थिए । त्यसैक्रममा नयाँ बानेश्वरमा भएको जन सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालप्रति टिप्पणी गरेका थिए,‘कल्प वृक्ष भनी संविधानस सभामा छिराएको नेपाल विष वृक्ष परेछन् ।’

त्यसो त प्रचण्ड तत्कालिन व्यवस्थापिका संसदको प्रतिपक्षी दलको नेताका रूपमा रहेका बेला नेपाललाई कहिले पनि प्रधानमन्त्री भनी सम्बोधन गर्न चाहेनन् । उनले कुनै पनि सभा वा बैठकमा नेपाललाई ‘माधव जी’मात्र भनी सम्बोधन गर्थे । सायद, आजभोली पनि उनको सम्बोधनमा तात्विक भिन्नता आएको छैन ।

कालान्तरमा तत्कालिन एमाओवादी, माओवादी केन्द्र हुँदै गत बर्षदेखि सोही तत्कालिन एमालेमा विलय भएर नेपाल कम्युनिस्ट पार्टी भएको छ । वरियताका हिसाबले प्रचण्ड दोस्रो र नेपाल तेस्रोमा छन् । र, गुटगत हिसाबमा यतिबेला नेपाल प्रचण्डका लागि कल्पवृक्ष बनिरहेका छन् ।

नेकपा एकीकरणपछि दुई कठोर कित्ताको मिलनलाई आश्चर्य नै मानिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवै कठोर कित्ताका नेतृत्व मानिन्छन् । उनीहरूको व्यक्तिगत निर्णय नै पार्टीले अंगीकार गर्नुपर्ने बाध्यता पहिलेका एमाले र माओवादीले झेल्दै नआएका होइनन् । अब, यी दुई कित्ताको एकीकरणपछि कुन कित्ता बलियो हुने हो भन्ने संशय सबैमा थियो ।

एमाले तालले पार्टी हाँक्ने ओलीको शैलीविरुद्ध प्रचण्ड कित्तामा अन्य नेताहरूको उपस्थिति बलियो देखिएको छ । खासगरी, उनै माकुने, झलनाथ खनाल, बामदेव गौतम जस्ता पूर्वएमालेका ‘क्रिम’ नेता प्रचण्ड गठजोडमा उभिएका छन् । उनैको समर्थनमा अमेरिकाविरुद्ध प्रचण्डको विज्ञप्ति सार्वजनिक भएको थियो । त्यसैले अमेरिकासँग कुटनीतिक सम्बन्धमा असर परेको हो की ? भन्ने चिन्ता सर्वत्र छाइरहेको छ ।

ओलीसँग इश्वर पोखरेल, विष्णु पौडेललगायतका नेताहरू मात्र छन् । यस्तो अवस्थामा नेकपाको एकीकरणका सबै तहका र जनवर्गीय संगठनमा पनि ठूलो प्रभाव पर्ने ठानिएको छ । पार्टीमा आफू बहुमतमा रहनका लागि पनि प्रचण्डले अन्य नेतालाई आफूसाथै लिएर हिँडिरहेका छन् । त्यसकारण पहिलो अध्यक्ष ओलीको सहमतिबिना नै भेनेजुएला प्रकरणमा उनले अमेरिकाविरुद्ध नेकपाको कठोर धारणासहितको विज्ञप्ति जारी गरेका थिए । जसलाई ओलीले हतार भएको र गल्ती पनि भएको भनी स्वीकार गरिसकेका छन् ।

त्यसो त उक्त विज्ञप्ति गलत थियो भन्न सक्ने अवस्था नेकपाको सचिवालय बैठकले गर्न सक्थ्यो तर बहुमत सचिवालय सदस्यले उचित भनेपछि ओलीको त्यहाँ केही जोर चलेको थिएन । यो अवस्था प्रचण्ड र माकुनेको अहिलेको सम्बन्धका कारण सम्भव भएको कतिपय नेकपा नेताले ठानेका छन् ।

एमाले तालले पार्टी हाँक्ने ओलीको शैलीविरुद्ध प्रचण्ड कित्तामा अन्य नेताहरूको उपस्थिति बलियो देखिएको छ । खासगरी, उनै माकुने, झलनाथ खनाल, बामदेव गौतम जस्ता पूर्वएमालेका ‘क्रिम’ नेता प्रचण्ड गठजोडमा उभिएका छन् । उनैको समर्थनमा अमेरिकाविरुद्ध प्रचण्डको विज्ञप्ति सार्वजनिक भएको थियो

नेपाल कस्ता हुन् ?

राधाकृष्ण मैनालीले केही बर्ष अघि भनेका थिए,‘साह्रै लोभी व्यक्ति हुन् । उनी जत्तिको अवसरवादी र पार्टीमा दाउपेच खेल्ने कोही देखेको छैन ।’

नेपाल आत्मकेन्द्रित भएर राजनीतिमा अघि बढेको धेरैको टिप्पणी छ । उनका व्यवाहारले पनि त्यसलाई पुष्टि गर्छ । कहिले ओली र कहिले खनाल पक्षमा उभिएर पार्टीमा आफ्नो साखलाई बलियो बनाएका नेपालले कार्यकर्तालाई भने कहिले पनि समेट्न सकेनन् । उनको लाइनमा उभिएका कार्यकर्ता पनि रुष्ट नै छन् । युवा संघका एक नेता भन्छन्,‘पार्टीभित्र गुट हुन्छ । ओलीइतरको गुटमा उभियौं, नेपालले हामीलाई संरक्षण गर्नै सकेनन् ।’

केही महिना अघि काठमाडौंमा गरिएको एसीया प्यासिफिक समिटको योजनामा पनि नेपालको ठूलो हात छ । उक्त सम्मेलनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेनन् तर नेपालको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली पुगे । जसको चर्को आलोचना भयो । आलोचनाप्रति गैर जिम्मेवार भएका नेपालले सम्मेलप्रति टिप्पणी गर्दै एउटा अन्तरवार्तामा भनेका थिए,‘धर्म निरपेक्ष मुलुक भएपछि किन सम्मेलन गर्न नपाउनु ? विभिन्न देशका प्रमूख आएका छन् ।’

नेपालको पृष्ठभुमी नै अवसरवादीको चाङले भरिएको छ । मनमोहन अधिकारीको निधनपछि तत्कालिन एमाले जिम्मा लिएर १५ बर्षसम्म नेतृत्व गरे । १९ माघ, २०५८ मा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनकाल लागु गर्नुपूर्व प्रधानमन्त्री बन्नका लागि नाम पठाउने र दाम चढाउने काममा पनि उनी सक्रिय भए । जसको प्रचार ०६४को चुनावीताका तत्कालिन एकीकृत नेकपा माओवादीले गरेको थियो ।

नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालासँग टाउको जोड्न पुगेपछि प्रधानमन्त्री पद पाएका नेपालले सदनमै नरहेका कांग्रेका धेरैलाई मन्त्रिमण्डलमा सामेल गराए ।

त्यसको पृष्ठभुमीमा पहिलो संविधानसभा निर्वाचनमा दुई ठाउँबाट पराजित हुँदै नेतृत्व त्याग गरेका उनी संवैधानिक सभापतिमा ल्याइए पनि प्रधानमन्त्री बन्न उक्त जिम्मेवारी छाडेर हिडेका थिए । २२ महिनासम्म प्रधानमन्त्रीको जिम्मेवारी (कामचलाउसहित) पाएका उनी एमाले नेतृत्वका लागि केपी शर्मा ओलीविरुद्धको खेमामा उभिए ।

‘राजनीतिमा अवसर त खोजिन्छ । तर यति धेरै महत्वकांक्षी र लोभीपापी नेता देखेको छैन’, एक पूर्वएमाले नेता भन्छन्,‘उनलाई अझै पार्टी अध्यक्ष र प्रधानमन्त्री हुने लोभले सताइरहेको छ ।’

एमाले र माओवादी एकीकरणमा पनि उनले लाभ लिएका छन् । नेकपा एकीकरणको घोषणाका बेला उनले पदीय मर्यादामा झलनाथ खनाललाई पनि उछिने । त्यसबेला प्रचण्डसँग घाटी जोडेका उनलाई वरियतामा तेस्रो स्थानमा राख्नका लागि ओलीले विष्णु पौडेललाई महासचिव नै घोषणा गरेका थिए ।

दुई अध्यक्षात्मक प्रणालीमा भएको एकीकरणको तल्लो तहसम्म टुंगो नलाग्दै नेतृत्वमा खटपट ल्याउने काम नेपालले नै गरेको कतिपयको दाबी छ ।बालुवाटारमा हुने गरेको सचिवालय बैठक नै बहिस्कार गर्ने, सचिवालयका निर्णयविरुद्ध धावा बोल्नेमात्र होइन, प्रधानमन्त्री ओलीविरुद्ध पनि उनले अन्तरवार्ताका क्रममा निकृष्ट जवाफ दिएका अडियो भिडियो संरक्षित छन् । जनउत्तरदायी भुमिकाबाट विमुख भएको आरोप लागेका उनी निर्वाचन क्षेत्र भन्दा विदेश बढी धाउनेमा पर्छन् ।

प्रतिक्रिया
सम्बन्धित