८ कार्तिक २०८३, आइतबार

मौसम पूर्वानुमान : तीन दिनसम्म देशभर वर्षा, हिमाली क्षेत्रमा हिमपात

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश ग-यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

कतिपय ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा हुने महाशाखाको प्रक्षेपण छ । माघको अन्तिमतिर वर्षा र हिमपातको अनुमान धेरैले नगरे पनि मौसममा आएको बदलावका कारण सचेत हुनुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

शनिबारसम्म वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘केही दिनदेखि चिसो ह्वातै घटेकाले धेरैले जाडोको लुगा थन्क्याउन थालिसकेका छन्,’ रिमालले भने, ‘केही दिन वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहीबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने उनको भनाइ छ । पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना आकलन गरिएको छ ।

पूर्वी क्षेत्रमा पनि बिहीबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ । एक–दुई स्थानमा वर्षा भई केही उच्च हिमाली क्षेत्रमा हिमपात हुने रिमालले बताए । हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले महाशाखाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरेको छ ।