८ कार्तिक २०८३, आइतबार

नेकपाको कार्यदलभित्रै असन्तुष्टि

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरूले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरू असन्तुष्ट भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘हामीले संयोजकलाई काम सम्पन्न गरेर प्रतिवेदन बुझाउनका लागि छिटो बैठक डाक्नुप-यो भनेकोभन्यै छौँ, डाक्छु भन्नुभएको छ, तर अहिलेसम्म बोलाउनुभएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सहज ढंगले काम गर्न दिने हो भने एक–दुई दिनमै प्रतिवेदन तयार पारेर बुझाउन सकिन्छ । तर, कार्यदललाई काम गर्नै नदिएर शीर्ष नेतृत्वलाई खुसी पार्ने, गलत ढंगले प्रयोग गरेर व्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहनेले अहिले कार्यदल असफल भएको नियोजित प्रचार गराइरहेका छन् ।’

उनले कार्यदल कार्यादेश पूरा गर्न असफल नभएको दाबी गर्दै अध्यक्ष ओली र प्रचण्डसहित पार्टीलाई असफल पारेर व्यक्तिगत स्वार्थ पूरा गर्न चाहने केहीले कार्यदललाई सहज ढंगले काम गर्न नदिएको दाबी गरे । ‘अहिले कार्यदल असफल भएको नियोजित प्रचार गरेर आमकार्यकर्तापंक्तिको पनि आत्मविश्वास कमजोर बनाउने प्रयास गरिँदै छ,’ भट्टराईले भने, ‘सचिवालयले सोमबारभित्र प्रतिवेदन बुझाउन दिएको निर्देशन हामीलाई थाहा छैन, बाहिर सुनेका मात्र छौँ, बैठक बोलाएर काम गर्ने हो भने एक–दुई बसाइमै सकेर प्रतिवेदन बुझाउन सकिन्छ ।’

९ सदस्यीय एकीकरण कार्यदलमा रामबहादुर थापा ‘बादल’ संयोजक छन् । पटक–पटक बैठक बोलाउन ध्यानाकर्षण गराउँदा पनि उनले आफू व्यस्त रहेको जानकारी गराएर भेटै नदिने र पन्छाउने गरेको कार्यदलकै अर्का एक सदस्यले बताए । यद्यपि, यसअघिका कतिपय बैठक महासचिव विष्णु पौडेलले पनि बोलाउने गरेकोमा उनी पनि सम्पर्कमा नरहेको केही नेताहरुको आरोप छ ।

‘हामीले मंगलबारै बैठक बोलाउन संयोजकको ध्यानाकर्षण गराएका थियौँ,’ पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘तर, उहाँले आफू सर्लाही जान लागेको जानकारी गराउनुभो, बुधबार संसद् बैठकले नभ्याइने सुनाउनुभो, त्यसैले कार्यदल असफल भएको होइन, बैठक बोलाएर छलफल नराख्ने संयोजक र महासचिव असफल हुनुभएको हो ।’

बैठक नबोलाइएकोमा आक्रोशित सदस्यहरूलाई बादलले बिहीबार बैठक राख्ने आश्वासन दिएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सांसदहरू योगेश भट्टराई, लेखराज भट्ट र सुरेन्द्र पाण्डेसँगको अनौपचारिक संवादमा बादलले बिहीबार दिउँसो २ बजे बैठक बस्ने आश्वासन दिएको एक सदस्यले बताए । ‘हामी अझै विश्वस्त छैनौँ, किनभने नियोजित रूपमै कार्यदल असफल भएको प्रचार भएको छ,’ उनले भने ।