
काठमाडौं, २० माघ । युएईविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमाथि नेपालले कब्जा जमाएको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १४ रनले पराजित गरेको हो ।
योसँगै नेपालले युएई विरुद्धको टी–ट्वान्टी सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको हो । नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल हारेको नेपालले सिरिजका बाँकी दुवै खेल जितेको हो ।
नेपालले दिएको १०५ रनको लक्ष्य पच्छाएको घरेलु टोलीले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
वर्षा र हावाहुरीका कारण खेल १० ओभरमा छोट्याइएको हो ।
यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए ।
युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए ।
युएई भ्रमणमा रहँदा नेपालले तीन खेलकाे एक दिवशीय सिरिज पनि खेलेको थियो । उक्त सिरिज पनि नेपालले २–१ ले नै जितेको थियो ।
टी–ट्वान्टी सिरिज खेलको इतिहासमा नेपालको यो पहिलो जित हो । आइतबारको जित नेपालका लागि एतिहासिक जित सावित भएको छ ।















प्रतिक्रिया