
-बिजय चालिसे
कावासोती, २० माघ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको चौथो दिन दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो । महोत्सव सुरु भएको चौथो दिन आज नवलपुरका मात्र नभै छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासीबाट पनि अवलोकनकर्ताहरु कावासोती आएको संघ अध्यक्ष डासुराज पोखरेलले जानकारी दिए ।
आज महोत्सवको प्रमुख आकर्षणमा रहेका जनगायक जीवन शर्मा, लाेकगायिका पूर्णकला बिसी, राजन गुरुङसहित स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए । शर्माले सिमली छायामा, चाहिदैन मलाई सम्पत्तिको राशलगायतका गीत गाउँदा ८० बर्ष कटेका वृद्धहरुलाई स्टेजमा बोलाएरै नचाएका थिए ।
जनताका गायक भनेर चिनिएका शर्माले वृद्ध भएका बुबा आमालाई सम्मान दिइएन भने परिवारमा कहिल्यै सुख शान्ति नहुने भन्दै वृद्ध बाबू आमाको सम्मान गर्नुपर्ने बताइरहदा दर्शक दिर्घाबाट तालिको गडगडाहक गुन्जिएको थियो ।
त्यसैगरी, महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमबाट पनि थप रौनकता छाएको छ ।
यसैबीच भोली ख्यातिप्राप्त कलाकार प्रकाश सपुत, कला लम्साल, शिलु भट्टराई, मुना मगर, हिम कुमार थापासहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले बताए ।
कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष संघले महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा २ सय ८० भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सूचना प्रविधी, अटो मोबाइल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनुका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्वसमा स्थानीयले उत्पादन गरेको कृषि उपजको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । गण्डकी प्रदेशभरिकै उत्कृष्ट महोत्सवको रुपमा नवलपुर महोत्सव सम्पन्न गर्ने लक्ष्य रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालले बताए ।
हिमाल–पहाड–तराईको आकृतिमा आकर्षण
महोत्सव परिसरमा बनाइएको हिमाल, पहाड, तराईको झल्को दिने आकृति महोत्वसको अर्को आकर्षण बनिरहेको छ । नवलपुर जिल्लामा हिमाल पहाड तराई क्षेत्र रहेकाले जिल्लाको आकृति तयार पारिएको हो । त्यहाँ विशेष गरि सेल्फी खिच्नेहरु बढिनै देखिन्थे ।
त्यसैगरी, हात्ती सयर महोत्सवको अर्को आकर्षण बनेको छ । हात्ती चढेर महोत्सव परिसरमा अबलोकन गर्नेको भिड पनि उत्तिकै बढेको छ । ससाना बालबालिकादेखि वृद्धवृद्धाहरु हात्तीमा चढेर रमाइरहेका छन् ।
महोत्सव परिसरमा रहेको बाल उद्यानमा बालबालिकाहरु रमाइरहेका छन् । त्यहाँ रहेको कृतिम तालमा डुङ्गा शयरमा बालबालिकाहरुको भिड लागेको हो । त्यस्तै अन्य थुप्रै खेलहरुमा बालबालिका सहित अवलोकनकर्ताहरुले खेलको मज्जा लिइरहेका छन् ।















प्रतिक्रिया