
काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नाममा सरकारी गाडी जलाउनु निन्दनीय कार्य भएको बताएका छन्। यस्तो प्रवृत्तिविरुद्ध आफू डटेर लाग्नेसमेत उनले बताएका छन्।
सरकारविरुद्ध आन्दोलन गर्ने क्रममा नेविसंघमा आबद्ध विद्यार्थीले विभिन्न स्थानमा सरकारी गाडीमा तोडफोड एवं आगजनी भएपछि सामाजिक सञ्जालमा त्यसको तीव्र आलोचना भइरहेका बेला थापाको प्रतिक्रिया आएको हो। नेविसंघको हर्कतप्रति विपक्षी दल मात्र हाेइन स्वयम् काँग्रेस कार्यकर्ताहरुले पनि आलोचना गरिरहेका छन् ।
आइतबार ट्विटमार्फत नेता थापाले भनेका छन्– नेविसंघको नाममा केही ‘विद्यार्थी’ले सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो भनेर थुप्रै साथीहरूको प्रश्न रहेछ। किन्तु, परन्तु केही नलगाई मेरो उत्तरः त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।
नेविसंघकाे नाममा केही “विद्यार्थीले” सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हाे, भनेर थुप्रै साथीहरूकाे प्रश्र रहेछ।
किन्तु,परन्तु केही नलगाई मेराे उत्तर ; त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्ताे कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।— Gagan Thapa (@thapagk) February 3, 2019
नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्ने गरेको बा १ झ ५८७९ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए।
यसैगरी काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए।
यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरूले नियन्त्रणमा लिएका थिए।















प्रतिक्रिया