
काठमाडौँ । काठमाडौंको सर्वनाम थिएटरमा नाटक ‘पिँजडाकी चरी’ मञ्चन भइरहेको छ । नेपालमा केहि समयअघिसम्म रहेको कमलहरी प्रथामा आधारित नाटक थिएटर डेला अर्डिनेर फ्रान्सका निर्देशक म्याक्सिम सिसडले करिब एक महिनाको कार्यशाला पश्चात सर्वनामका कलाकारहरुसँग मिलेर तयार पारेका हुन् ।
विशेषगरी पहाडिया हुनेखाने शोषकले सोझासिधा थारुहरुलाई दाषी बनाएर कमैयाको रुपमा काम गर्न लगाएर शोषण गरेको तथ्यलाई निर्देशकले नाटकमा उतारेका हुन् । करिब १ घण्टा तीस मिनेट लामो नाटकबाट सन्देशमात्र हैन प्रशस्त मनोरञ्जनसमेत प्राप्त हुन्छ । कलाको कुनै भाषामा नहुने भन्दै सिसडले नेपाली कलाकारसँग नेपाली नाटक बनाउन पाउनु भनेको आफ्नोलागि सौभाग्य भएको बताए ।
आफू फ्रेन्च भाषी भएकाले नेपाली भाषामा नाटक बनाउनु सबैभन्दा चुनौती भएपनि कलाकारहरुको सहयोग र बुझाइले नाटक बनाउनमा सहज भएको बताए । त्यस्तै सर्वनामका निर्देशक अशेष मल्ले रंगमञ्चको कुनै देश हुदैन, अलग अलग भाषा हुदैन, राजनैतिक सीमाना हुँदैन भन्दै सर्वनाम र यहाँका कलाकारलाई सिकाइको नयाँ अनुभव थपिएको बताए ।
नाटकमा मनोज महर्जन, भूमिका थारु, सुनिता बाडे र पाश्लाक्पा शेर्पाको अभिनय रहेको छ। त्यसैगरी नेपथ्यमा आरुषजंग सारु र कृष्ण गोपाल कक्षपती रहेका छन् । स्टेज म्यानेज्मेन्ट आदित्य शर्माले गरेका हुन् भने सञ्चार संयोजनमा मोहन अभिलाषी र क्षितिज समर्पण रहेका छन् । प्रकाश परिकल्पना रुपेन्द्र शिवाकोटीले गरेका हुन् भने प्रकाश परिचालनमा धिरज थापा मगर, ध्वनी परिचालनमा आशिष काफ्ले रहेका छन् ।
नाटक बिहीबार बाहेक हरेकदिन साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजेपनि मञ्चन हुनेछ । नाटक फागुन ४ गतेसम्म चल्नेछ ।















प्रतिक्रिया