९ कार्तिक २०८३, सोमबार

शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेता ठेक्कापट्टा र सरुवा-बढुवामा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हरेक दुई–दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

०६५ पछि एकैचोटि ०७३ फागुनमा निर्वाचन मिति त तोकियो, तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचन गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएपछि त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुन सकेन ।

बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरूलाई पत्र पठाएको छ । तर, विद्यार्थी संगठनहरू भने निर्वाचनमा जाने–नजाने विवादमा प्रवेश गरेका छन् ।

०६५ मा तत्कालीन एकीकृत माओवादी देशको पहिलो ठूलो दल थियो । त्यसैले त्यतिवेला स्ववियु निर्वाचन हुनुपर्ने आवाज सबैभन्दा बढी अखिल क्रान्तिकारीले उठायो । ०७३ मा आइपुग्दा माओवादी पटक–पटक फुटेर कमजोर अवस्थामा पुग्यो । त्यतिवेला स्ववियु निर्वाचन हुनुपर्ने सबैभन्दा चर्को आवाज नेविसंघ र अनेरास्ववियुले उठाए ।

त्यतिखेर विभाजित माओवादीका विद्यार्थी संगठन भने निर्वाचन नहुँदा खुसी हुने अवस्थामा थिए । कतिपयले त विभिन्न बहाना बनाएर बहिष्कार नै गरे । तर, अहिले फेरि तत्कालीन एमाले र माओवादी एक भई पहिलो दलका रूपमा सत्तामा रहेका वेला अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन हुनुपर्ने आवाज जोडबलले उठाइरहेका छन् ।

कांग्रेस कमजोर अवस्थामा रहेकाले नेविसंघ भने निर्वाचन टार्ने रणनीतिमा देखिन्छ । आफ्नो पक्षमा माहोल हुँदा निर्वाचनको पक्षमा उभिने र कमजोर हुँदा निर्वाचन टार्ने रणनीतिमा विद्यार्थी संगठनहरू देखिने गरेका छन् ।