काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नका लागि कुराकानी गरेको रहस्य बाहिर आएको छ ।
उच्च स्रोतका अनुसार बोहराले ३–४ पटक संघीय फोरमको नेतृत्वसँग पार्टी प्रवेशका विषयमा कुराकानी गरिसकेका छन् । कुराकानी भए पनि बोहराको मागलाई संघीय फोरमका अध्यक्ष यादवले नरुचाएपछि पार्टी प्रवेश गर्ने कुरा लम्बिएको छ । बोहराको विगतको विवादास्पद छविबाट अध्यक्ष यादवले टाढा हुन खोजेको एक नेताले बताए ।
राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष बोहरा संघीय फोरममा प्रवेश गरेपछि उपाध्यक्ष बनाउनु पर्ने माग गरेका छन् । बोहराको यो मागलाई संघीय फोरमका अध्यक्ष यादव र अन्य नेताहरूले सिधै अस्वीकार गरिदिएपछि तनावमा छन् । बोहराको क्षेत्रमा संघीय फोरमका मतदाताहरू अलिक धेरै छन् । संघीय फोरमका ती मतदातासँग लोभिएका बोहरालाई तत्कालका लागि धक्का लागेको छ ।
रुपन्देही जिल्लामा राप्रपाबाट प्रभाव राख्ने बोहराले भावी राजनीति सुरक्षित गर्न विभिन्न पक्षसँग पार्टी प्रवेशको कुराकानी पनि गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गर्न खोजेपनि रुपन्देहीकै प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँणका कारण बोहरा हच्किएका छन् । खाँण र बोहराको निर्वाचन क्षेत्र एउटै पर्छ । बोहरा कांग्रेसमा प्रवेश गर्ने कुरा शून्य सरह रहेको एक नेताले बताए ।
संघीय फोरमले पनि नपत्याएपछि राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष बोहरा अन्तिममा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्ने चर्चा छ । पशुपति शम्शेर राणा निकटका नेताहरूले बोहरालाई कमल थापाको पार्टीमा प्रवेश गर्ने तयारी गरेको भनेर आरोप लगाउँदै आएका छन् ।
राप्रपाका अध्यक्ष थापा र बोहराको व्यक्तिगत सम्बन्ध राम्रो छ । तर, बेलाबेला बोहराले थापालाई धोका दिने गरेकाले राप्रपामा प्रवेश बोहराका लागि त्यति सजिलो छैन ।
स्रोतका अनुसार राप्रपा (प्रजातान्त्रिक) र एकीकरण राप्रपा (राष्ट्रवादी) पार्टी एकीकरण गरेर बनेको राप्रपा (संयुक्त)मा बोहराले सहध्यक्षको पद माग गरेका छन् । तर, राणा र डा.लोहनीले बोहरालाई सहध्यक्ष बनाउन मन गरेका छैनन् ।
राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डासहित पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच भएको पार्टी एकीकरणलाई बोहराले रुचाएका छैनन् । बोहराले शुक्रबार विज्ञप्ति जारी गरेर पार्टी एकीकरणको विरोध गरेका छन् ।















प्रतिक्रिया