५ कार्तिक २०८३, बिहिबार

नवलपुर महोत्सवमा बद्री पंगेनीले रुवाए

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, १८ माघ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा हिजोदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको दोस्रो दिन गायक बद्री पंगेनीले नवलपुरका दर्शकहरुलाई गीतमार्फत रुवाएका छन् ।

गायक पंगेनीले आमा विदा पाउँदिन, अहिलेको सालपनि घर आउँदिन बोलको गीत गाउँदै स्टेजमा उक्लिए अनि थोरै नवलपुरको सुन्दर भूमि र नवलपुरवासीहरुको बिषयमा केही शब्द खर्चिए । गायक पंगेनीले आफू नवलपुरको रजहरमा जन्मिएको भन्दै यो ठाउँको असाध्यै माया लाग्ने बताएपछि दर्शकहरुका चेहेरा प्राय मलिन देखिन्थे ।

उनले विदेशीको बाध्यता र पीडाका बारेमा थोरै बोल्दै माहोल आफू अनुकुल बनाए । जति टाढा भएपनि आमाको महानता र छोरा–छोरी प्रतिको स्नेहका बारेमा बोल्दै गर्दा त्यहाँ रहेका बृद्वा आमाहरुको मन भक्कानिएको सहजै महशुस हुन्थ्यो । आमाले हरेक साँझ र विहान आफूले खाना खाँदा विदेशीको मेरो छोराले खान पायो कि पाएन भनेर कल्पिने गरेको वास्तविकता बताए ।

श्रीमान विदेशीदा उनीहरुको आधा अंग समान श्रीमतीको मनमा खेल्ने कुराहरु खोतले । अनि सुरु गरे बाध्य भइयो विदेशमा छिर्न, मैले पर्दा लागेको ऋण तिर्न आमा विदा पाउँदिन भन्ने गीत गाउन ।

पंगेनीले नेपालीले भोग्नु परेको यथार्थपरक परिदृष्य र त्यसको पीडा स्वयंम आफै नाटकिय शैलिमा प्रस्तुत हुँदै स्टेजवाट ओर्लिएर सरासर दर्शक दिर्घामा पुगे । जहाँ उमेर ढल्केका आमाहरु बसीरहेका थिए, उनिहरु नजिकै पुगेर आमातर्फ इंगित गर्दै उनले गीत गाउँदा प्राय सबैको गहभरि आँशु देखिन्थ्यो ।

महोत्सवको उल्लसामय माहोलमा केही बेर सन्नाटा छायो । र, गीत गाइसकेपछि फेरि गायक पंगेनीले आमाहरुलाई साहानुभूति दिन भने ‘आमा अब विदेशवाट तपाईको छोरा फर्केर आएपछि फेरि छोरालाई विदेश जान नदिनुहोस । बरु मिठो मसिनो जे भएपनि दुःख सुख गरेर संगै बस्नुहोस भनेर सम्झाए पछि अर्को गीततमार्फत दर्शकहरुलाई नचाउन सुरु गरे ।

त्यस्तै महोत्सवको प्रमुख आकर्षणमा रहेकी अर्की गायिका सम्झना भण्डारीले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेकी थिईन् । उनिसहित नवराज थापालगायत स्थानीय कलाकारहरुले साङ्गितिक प्रस्तुतिमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यसैगरी महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमबाट पनि महोत्सवमा थप रौनकता छाएको छ ।

यसैबिच भोली ख्यातिप्राप्त कलाकार नारायण रायमाझी, तुलसा जिसी, हास्य कलाकार पाँडे र जिग्रिसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए ।

दर्शकहरुको भिड बढेको छ । उद्घाटन दिनको तुलनामा आज दोस्रो दिन दर्शकहरुको भिड अत्याधिक बढेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले दावी गरे ।

महोत्सवमा २ सय ८० भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रदर्शनी, बाल उद्यान, सूचना प्रविधी, अटो मोबाइल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनुका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्वसमा स्थानीयले उत्पादन गरेको कृषि उपजको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । गण्डकी प्रदेशभरिकै उत्कृष्ट महोत्सवको रुपमा नवलपुर महोत्सव सम्पन्न गर्ने लक्ष्य रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालले बताए ।

प्रचार प्रसारको अभावले नवलपुरभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन महोत्सव अवधिभर हेलिकप्टर यात्रा गराउने आयोजकको तयारी छ ।

महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको सबै भन्दा अग्लो पर्यटकिय क्षेत्र देवचुली वरचुली डाँडाको अवलोकनका साथै नारायणीदेखि पहाडि क्षेत्रको अवलोकन गर्न पाइने नवलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारी दिए ।