
काठमाडौँ, १८ माघ । दोस्रो टि–२० खेलमानेपालाले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यसअघि बिहीबार भएको पहिलो खेलमा २१ रनले पराजित नेपालले शुक्रबार भएके दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै शृंखलामा बराबरी गरेको हो ।
नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टि–२० अन्तर्राष्ट्रिय शृंखलामा १– १को बराबरी गरेको छ ।
यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो । दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् ।
नेपालका लागि दीपेन्द्रले नटआउट ४७ रन जोडे । ४१ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । पवनले २५ बलमा २ चौकासहित १८ रन जोडे । यस्तै करण केसीले २०, प्रदीप ऐरीले ८ र ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए ।
त्यसअघि आइसिसी एकेडेमी ओभल मैदान दुबईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमात्रै जोड्न सकेको थियो ।
युएईका लागि चुन्दानगापोइल रिज्वानले ४४ रनबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रनबाहेक अन्यको दोहोरो अंक रहेन ।
नेपालका अविनाश बोहराले ३ विकेट लिए । चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे । यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।
सुरुदेखि नै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखेका थिए । पहिलो ओभरमै सोमपालले युएईका ओपनर अस्फाक अहमद(६)लाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए ।
तेस्रो ओभरमा घुलम शब्बिर(६)लाई अविनाशले विकेटकिपरको प्रदीप ऐरीको हातबाट क्याच गराए । यस्तै सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौं बलमा शाइमन अनवर(१४) र अन्तिम बलमा मोहम्मद उस्मान(०)को विकेट लिएपछि युएईमाथि दबाब बढेको थियो ।
टि–२० शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ । नेपालले युएईविरुद्ध यसअघि खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने २–१ ले जितिसकेको छ ।















प्रतिक्रिया