
काठमाडौँ, १८ माघ । सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफै सक्षम रहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग गरेको ब्रिफिङमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नेपाल आफै सक्षम रहेको प्रष्टयाएको हो ।
संयुक्त राष्ट्र संघ र युरोपियन युनियनमा आवद्ध ७ देशले द्वन्द्वकालीन न्यायलाई टुंगो लगाउने सरकारको कार्ययोजनाबारे जानकारी गराउन आग्रह गर्दै संयुक्त विज्ञप्ती जारी गरेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेको हो ।
छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले शान्ति प्रक्रियाको कामलाई आफ्नै मौलिकतामा सम्पन्न गरेको नेपालले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगो लगाउने बताए ।
उनले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म, नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता, पीडितहरुको सरोकार, यस विषयमा सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालगायतका मार्गदर्शनमा संक्रमणकालीन न्याय निरुपणको कामलाई छिट्टै सम्पन्न गर्ने सरकारको योजनाबारे पनि जानकारी गराए ।
संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको म्याद थप गर्ने कार्यलाई पनि सरकारले अघि बढाएको बताउँदै मन्त्री ज्ञवालीले नेपालको विकासको प्राथमिकताको क्षेत्र र त्यसमा अन्तर्राष्ट्रिय समूदायको साथ, सहयोग र समर्थनको आवश्यकतााबारे विस्तृतमा जानकारी गराए । सरकारले लिएको ‘समृद्ध नेपाल र सुःखी नेपाली’को नारालाई सफल बनाउन अन्तराष्ट्रिय समुदायको साथ र सहयोगबारे पनि कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई स्मरण गराइएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
नेपालमा आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन हुँदैछ । सम्मेलनको तयारीका विषयमा पनि अन्तर्राष्ट्रिय समूदायलाई विस्तृत जानकारी गराइएको छ । ओली नेतृत्वको सरकार बनेयता यो तेस्रो पटक कूटनीतिक नियोगसँग सामूहिक छलफल गरेको हो । प्रधानमन्त्री ओलीले ब्रिफिङमा सहभागी सबै कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपालको विकास र समृद्धिमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए ।











प्रतिक्रिया