
काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको दाबी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन समेत सांसदहरुलाई आग्रह गरे ।
पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाए । ‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर, अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने, संसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने पनि बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गरे ।
‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुदैनन् ,त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनतामा पठाउने हो’ प्रधानमन्त्री ओलीले भने ।











प्रतिक्रिया