
काठमाडौँ, १७ माघ । पहिलो टी-२० खेलमा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो।
यूएईका लागि शाइमन अनवरले ५९ रनको अर्धशतकीय पारी खेले। ३८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद उस्मानले ३० रन जोड्ने क्रममा एक चौका र दुई छक्का प्रहार गरे।
यस्तै उसका रिज्वानले २२, मोहम्मद बुटाले २० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले समान १-१ विकेट लिए।
टोलीको दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा नै यूएईका ओपनर अस्फाक अहमदलाई बसन्त रेग्मीको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।अस्फाकले २ रनमात्रै जोड्न सके।
पाचौं ओभरमा सोमपालले अर्का ओपनर घुलम शब्बर ८ रनमै पवेलियन फर्काए। अस्वस्थताका कारण पछिल्ला दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल गुमाएका बसन्त रेग्मीले तेस्रो सफलता दिलाउने क्रममा यूएईका रिज्वानलाई विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराएका थिए।
चौथो विकेटका लागि शाइमन अनवर र शाइमन उस्मानले सम्हालिएर पारी अघि बढाउँदै ६१ रनको साझेदारी गरेका थिए। उस्मानलाई कप्तान पारस खड्काको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेर सन्दीपले नेपाललाई ठूलो राहत दिलाए।
डेब्यू गरेका अविनाश बोहराले यूएईका अर्धशतक बनाएका ब्याट्सम्यान शाइमन अनवरलाई बोल्ड पारेका थिए भने बसन्तले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका कप्तान मोहम्मद नाभिदलाई एक रनमै विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराएका हुन्।
टी-२० सिरिज ३ खेलको हुनेछ। युएई भ्रमणमा रहेको नेपालले यसअघि ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको थियो।















प्रतिक्रिया