४ कार्तिक २०८३, बुधबार

नवलपुर महोत्सवको तयारी पुरा, हेलिकप्टर मुख्य आकर्षण

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, १६ माघ । नवलपुरको कावासोतीमा हुने पाँचौ नवलपुर महोत्सवको तयारी पूरा भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै प्रत्येक वर्ष हुने महोत्सव भोलिदेखी सुरु हुँदैछ ।

महोत्सवको उद्घाटनका लागि उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल पुग्ने अयोजकले जनाएको छ । महोत्वसमा स्थानीयले उत्पादन गरेको कृषि उपजको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।

पाँचौ नवलपुर महोत्सव जिल्लामा आयोजना हुने अन्य महोत्सवको तुलनामा बिशेष हुने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले दावी गरे । यसपटक नाम मात्रको महोत्सव नभई जिल्लाको आर्थिक, साँस्कृतिक एंव पर्यटकिय क्षेत्रको संभाव्यता र विकासका बारेमा बहस हुने अध्यक्ष पोखरेलको भनाई छ । महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सूचना प्रविधी, अटो मोबाईल्स प्रदर्शनी स्टलका प्रमुख आकर्षणका रुपमा रहने स्टल संयोजक सागर पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशभरिकै उत्कृष्ट महोत्सवको रुपमा नवलपुर महोत्सव सम्पन्न गर्ने लक्ष्य रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालले दावी गरे । प्रचार प्रसारको अभावले नवलपुर भित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन महोत्सव अवधिभर हेलिकप्टर यात्रा गराउने आयोजकको लक्ष्य रहेको छ । महोत्सवमा हेलिकप्टर मार्फत जिल्लाको सबै भन्दा अग्लो पर्यटकिय क्षेत्र देवचुली वरचुली डाँडाको अवलोकनका साथै नारायणी देखि पहाडी क्षेत्रको अवलोकन गर्न पाईने नवलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारी दिए ।

यसैगरी महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तर क्लब स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमको तयारीको ९० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य संघका सचिव तथा महोत्सव मुल आयोजक समितीका प्रचार प्रसार संयोजक हरी सुवेदीले जानकारी दिए ।

साथै महोत्सव अवधिभर ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे बेजोड प्रस्तुती पनि रहने साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले बताए। महोत्सवको अर्काे आकर्षणका रुपमा रहने बालउद्यान तथा हिमाल, पहाड, तराईको झल्को दिने आकृतिको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनेका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा २ सय ८० स्टलहरु रहने छन् ।