९ कार्तिक २०८३, सोमबार

दलित महिलासँग बिहे अस्वीकार तर एक्लै भेटे सामूहिक बलात्कार

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सामूहिक बलात्कारपछि हत्या गरिएकी माया विकका बाबु हर्कबहादुर भन्छन्– बलात्कारीले सजाय नपाएसम्म सरकारको राहत लिन्नँ मेरो नाम हर्कबहादुर विक हो । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाको जडैकटानमा हाम्रो परिवार बस्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

छोराछोरी र नातिनातिनासहित सातजनाको परिवार थियो । भारतको पुनेमा ग्यारेजको काम गर्दागर्दै म बिरामी परेँ । थाइराइडले थलिएपछि काम गर्न सकिनँ । मलाई घरमा राखेर श्रीमती कमाउन कुवेत गइन् । म केटाकेटीको हेरचाह गर्दै घरमा थिएँ ।

नगरपालिकाले डाटा संकलन गर्ने मान्छे खोजेको रहेछ । १९ वर्षकी माया १२ कक्षामा पढ्दै थिई । उसले नगरपालिकामा काम पाई । घरधुरी, मान्छे र तिनको जग्गाजमिनको डाटा संकलन गर्ने काम गर्नुपथ्र्यो । डाटा संकलन गरेको एक घरबराबर १० रुपैयाँ दिने भनिएको थियो । काम सुरु गरेको ६–७ दिन मात्रै भएको थियो । ११ साउन बिहान त्यही डाटा संकलन गर्ने काममा जान्छु भनेर घरबाट निस्केकी थिई ।

तर, साँझसम्म फर्किन । फोन गर्दा अफ थियो । मामाघर गएकी होली भन्ने लाग्यो । तर, उता फोन गर्दा पनि आएकी छैन भन्ने खबर आयो । रातभरि हामी छटपटियौँ । तर, उपाय केही थिएन । अर्को बिहान धेरै आफन्तकोमा खोजखबर गर्‍यौँ । तर, पत्ता लाग्न सकेन । तेस्रो दिन मसुरिया प्रहरी चौकीमा उजुरी गर्‍यौँ ।

त्यतिवेलासम्म पनि केही संकेत पाइएन । चौथो दिन हाम्रै गाउँको मान्छेले साइकल भेटेछ । हामीले साइकल चिन्यौँ । उसैलाई समातेर साइकल भेटिएको ठाउँ पुग्यौँ । त्यही ठाउँमा खोज्दा बाटोभन्दा करिब दुई सय मिटर पर छोरीको लास भेटियो ।

डाटा संकलनको काम गर्नेमा जडैकटानबाट मेरी छोरी थिई । ऊसँगै उमेश चौधरी र गणेश बडुवालले पनि काम पाएका थिए । त्यस्तै अरू साथीहरू मनोज बोगटी, भुवन खाती र टपेन्द्र बोगटी पनि मिलेर मेरी छोरीलाई जबर्जस्ती गरेर हत्या गरेछन् । उनीहरूलाई प्रहरीले पक्राउ त गरेको छ । तर, सजाय तोकिने हो कि होइन निश्चित छैन । सरकारले राहतका लागि पाँच लाख दिन्छु भनेको छ । अपराधीले सजाय नपाएसम्म पैसा लिन्नँ ।

पानी छोएको निहुँमा जनप्रतिनिधिको हत्या

गत जेठमा कालिकोटको नरहरिनाथ गाउँपालिका– ९ की वडा सदस्य मना सार्कीको कुटपिट गरी हत्या भयो । नेकपाबाट वडा सदस्यमा निर्वाचित उनलाई धारामा पानी लिन जाँदा स्थानीय राजिन्द्रा शाही र सिर्जना शाहीले कुटपिट गरे । पानी छोएको निहुँमा उनीमाथि कुटपिट भएको थियो । घटना भएकै दिन उनको निधन भयो ।

छिमेकी तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपालीका अनुसार अहिलेसम्म उक्त घटनाको छिनोफानो भएको छैन । उनका अनुसार उक्त घटनाका आरोपित हिरासतमा छन् भने ९ महिनासम्म साक्षीहरूसँग बयान लिने मात्र काम भइरहेको छ ।

गाउँपालिकामा भत्ता लिन आएका दलितले पानी छोएको भन्दै जनप्रतिनिधिले कुटे

सर्लाहीको विष्णु गाउँपालिका– २ का अजय राम गत २७ साउनमा वडा कार्यालय गएका थिए । आफ्नो चार वर्षीय छोराको पोषण भत्ता लिन उनी वडा कार्यालय पुग्दा उकुसमुकुस गर्मी थियो । कार्यालयमै एउटा टेबुलमा पानीको जग थियो । अजय रामले पानी खान खोजे । तर, दलितले पानी छोएको देखेर आक्रोशित भएका वडाध्यक्ष सञ्जय शाह दुव्र्यवहारमा उत्रिए । उनले कार्यालयमा अजयलाई कुटपिट गरेपछि घाँटी समाएर गलहत्याउँदै कार्यालयबाट निकालेका थिए ।

अन्यायमा परेका अजयले उजुरी दिन खोज्दा प्रहरीले लिन मानेन । एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि पीडितले राजनीतिक दल र सामाजिक कार्यकर्तालाई गुहारेका थिए । उनलाई न्याय दिलाउन गठन भएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको थियो । तब मात्र घटनाप्रति चासो देखाउँदै प्रमुख जिल्ला अधिकारीले कारबाही गर्ने आश्वासन दिएका छन्, तर वडाध्यक्ष होइन, कार्यालय सहयोगीविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।