
काठमाडौँ, १४ माघ । नेपालले युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई विकेटले पराजित गरेको हो।
कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको हो । युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो। योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।
ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो। यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो। नेपालको जितमा कप्तान पारस खड्का नायक सावित भए। नेपालका लागि पहिलो एक दिवसीय सतक बनाएका खड्काले १०९ बल खेल्दै ११५ रन बनाएका थिए।
पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।
यस्तै रोहित कुमार पौडेलले १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।
पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।
नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।
कप्तान मोहमद नाभिद ११ रनमा अविजित रहे । नेपालका कप्तान पारस खड्का र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए । अब नेपालले घरेलु टोलीसंग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।















प्रतिक्रिया