
-विमलबहादुर विष्ट
डोटी, १४ माघ । पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भन्नुभयो ।
गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भन्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”
१६५ जना भारतमा बेपत्ता
कामका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका १६५ जना बेपत्ता भएका छन् । गैरसरकारी संस्था निड्स नेपालले कञ्चनपुर, अछाम र डोटीमा गरेको अनुसन्धानबाट मजदूरी गर्न भारत गएका उनीहरु बेपत्ता छन् ।
सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजनाअन्तर्गत तीन जिल्लामा तथ्याङ्क सङ्कलन गरिएको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले जानकारी दिनुभयो । हराएकाको खोजी गर्न स्थानीय प्रशासन कार्यालयमा उजुरी नपर्दा समेत यकिन तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको उहाँको भनाइ थियो । मडैले भन्नुभयो, “ अन्य जिल्लाको तथ्याङ्क सङ्कलन गरे बेपत्ताको सङ्ख्या बढ्नसक्छ ।” –रासस















प्रतिक्रिया