
-बिनोद ढकाल
काठमाडौं, १२ माघ । व्यवस्थाकै विकल्पका लागि ०५१ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र राख्ने सांसदको नेतृत्व गरेका थिए, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ।
उनको त्यो मागपत्रलाई देउवाले साधारण ठाने तर सत्तामात्र होइन व्यवस्था नै उलटपलटका निम्ति डा. भट्टराईको राजनीतिक यात्रा रोकिएन । उनी, व्यवस्थाविरुद्धकै राजनीतिक चेत जगाउनका निम्ति माओवादी आन्दोलन, जनयुद्धको बाटोमा अघि बढे ।
उतारचढाव र सहमति सम्झौता हुँदै संविधानसभाका दुई निर्वाचनपछि मुलुकले कायाकल्प नै गरेको थियो । २०७५ को संविधान जारी गराउँदा डा. भट्टराई संवैधानिक समितिका सभापति थिए । त्यसपछि उनले संविधानसभा छाडिदिए र नयाँ यात्रामा लागे, नयाँ शक्ति नेपाल ।
एउटा चुनाव फेस गरिसकेका उनी अब राजनीतिभित्रको आर्थिक चेत जगाउन सक्रिय छन् । समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने उनको ट्रेडमार्क स्थापित गराउनका लागि १७७६ किलोमिटर हिँड्ने तयारीमा छन् । उनी राजनीतिक विचार, जनताका गुनासा सुन्नका लागि पाँचथरको चुवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म हिँड्न लागेका हुन् । १५ माघमा यो अभियान सुरु हुनेछ ।
यति लामो दूरी उनको अहिलेको उमेर र स्वास्थ्यले हिँड्नका लागि सहजीकरण गर्ला त ? डा. भट्टराई भन्छन्, ‘परिवर्तन र अभियानका लागि गर्नुपर्छ । यो मेरा लागि होइन, आउने पुस्ताका लागि पनि हो ।’
६७ बर्षीय भट्टराईको सक्रिय राजनीति गर्ने समय स्वास्थ्य र शरिरका कारणले पनि लामो छैन । तर, उनले आर्थिक विकासको एजेन्डालाई मूल लक्ष्य बनाएका छन् । २१ औं शताब्दिमा आफ्ना विचारलाई जनतामा पुराउन सक्ने अठोट पनि बोकेका छन् । सक्रियताको कसीजस्तो बनेका डा. भट्टराई आशावादी मुद्रामा दैनिक नेपालसँग भन्छन्,‘अहिले प्राविधिक युग छ । पहिले भन्दा पनि जनतामा आफ्ना एजेन्डा स्थापित गराउनसक्ने मौका छ, हरेक नागरिकमा राजनीतिक चेतना छ । यसैबेला नयाँ शक्तिका एजेन्डा र राजनीतिक चेत जनतामा प्रवाह गर्दैछौं ।’
कुनै पनि राजनीतिक पार्टी स्थापित हुँदा केही सकस हुन्छन् । कांग्रेस स्थापित हुँदा प्रजातान्त्रिक र राष्ट्रिय भन्ने थियो, कम्युनिस्ट त कति हो कति । तर, पछि सग्लो हुँदै जाने हो । अहिले वैकल्पिक राजनीतिक पार्टी, नयाँ विचार स्थापित हुँदा विभक्तका आधारमा जस्तो देखिन्छ । तर, यसैलाई सग्लो र बलियो बनाउने उद्देश्य लिएको छु । मेरा लागि होइन, तपाईहरूका लागि मैले यो अभियान सुरु गरेको हुँ
उनले मध्यपहाडी लोकमार्गमा नै अभियान सुरु गर्नुका दुईवटा महत्व रहेछ । एउटा पहिलो पटक अर्थमन्त्री हुँदा उक्त लोकमार्गका लागि उनी आफैंले ‘पुष्पलाल’ लोकमार्ग भनी बजेट छुट्याएका रहेछन् । अर्को, नेपालको राजनीतिमा प्रभाव राख्ने खस, आर्य, किरातलगायत ७ मुख्य जातजातीको घनीभूत बसाई । जुन वर्गले नेपाली राजनीतिमा प्रभाव राखेको छ । तराई मधेसको योजना पनि उनीसँग छुट्टै हुनुपर्छ ।त्यसपाटोमा भने त्यति खुलेनन् । भन्छन्,‘म अर्थमन्त्री हुँदा पुष्पलाल लोकमार्गका लागि बजेट छुट्याएको थिएँ । त्यसको काम, त्यहाँका जनताका गुनासा र नयाँ शक्तिको राजनीतिक कार्यदिशाबारे जानकारी गराउनेछौं ।’
विकल्पका नाममा खुलेका पार्टीमा विभाजन, विभक्तिकरण, वैचारिक मतभेदले नैराश्यता उत्पन्न गराउँछ, विश्वासको कसी बनाउन कठिन हुँदैन ? यस विषयमा उनीसँग ठूलो अध्ययन र कतिपय अनुभव भएको प्रभावकारी उत्तर छ । प्रस्ट्याउँछन्,‘कुनै पनि राजनीतिक पार्टी स्थापित हुँदा केही सकस हुन्छन् । कांग्रेस स्थापित हुँदा प्रजातान्त्रिक र राष्ट्रिय भन्ने थियो, कम्युनिस्ट त कति हो कति । तर, पछि सग्लो हुँदै जाने हो । अहिले वैकल्पिक राजनीतिक पार्टी, नयाँ विचार स्थापित हुँदा विभक्तका आधारमा जस्तो देखिन्छ । तर, यसैलाई सग्लो र बलियो बनाउने उद्देश्य लिएको छु । मेरा लागि होइन, तपाईहरूका लागि मैले यो अभियान सुरु गरेको हुँ ।’
चीन, रसिया र अमेरिकाका बेग्लाबेग्लै कित्तामा उभिने होइन, त्यो भन्दा माथि तेस्रो कित्ताको नेपाली राजनीति स्थापित गर्ने उनको सोच छ । नयाँ शक्तिको राजनीतिक कार्यक्रम पनि त्यहि दिशामा अघि बढ्ने उनको आत्मविश्वास छ ।
विश्व राजनीतिमा आजका दिनमा भेनेजुएला प्रकरणमा देखिएको पक्ष र विपक्षलाई उनी शीतकालिन युद्धका क्रममा देखिएको विभक्तिकरणसँगै जोड्छन् । तर आजको विश्वले २१ औं शताव्दिको नयाँ विचारलाई साथ दिन खोजीरहेको आशा उनले देखेका छन् । उनी त्यसमा थप्छन्,‘माओवादी आन्दोलन, युद्ध राजनीतिक परिवर्तनका लागि थियो । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि थियो । त्यो हामीले प्राप्त गरेपछि अब तिव्र आर्थिक विकासको युगमा जानुपर्छ । यो कछुवा गतिले हुँदैन, त्यसका लागि खरायोभन्दा तेज गतिमा विकासका योजना आउनुपर्छ ।’
व्यवस्थामा उपलव्धी हासिल भए पनि चरित्रमा कहिले पनि सुधार नआएको प्रति अलि बढि चिन्तित देखिएका उनी जोड्छन्,‘राजनीति भनेको भ्रष्टाचारको पयार्य बनेको भन्ने जनतामा परिसकेको छ, त्यसलाई चिर्नका लागि नयाँ शक्ति आर्थिक र सामाजिक परिवर्तन त्यो पनि समानुपातिक आर्थिक रुपान्तरको एजेन्डा बोकेर हिँडेको छ । त्यो भनेको आर्थिक रुपान्तरण भएपछि त्यसको लाभ हरेक नेपाली नागरिकले उपभोग गर्न पाउनुपर्छ भन्ने हो ।’















प्रतिक्रिया