४ कार्तिक २०८३, बुधबार

यसकारण देश भ्रमण गरिरहेका छन् पूर्वराजा ज्ञानेन्द्र, फेरि तराईका नागरिक भेट्दै

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । अघिल्लो महिना दुई सातासम्म पोखरा र आसपासका क्षेत्रको भ्रमण सकी काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह तराईका जिल्लाको भ्रमणमा निस्कने भएका छन् ।

शाह आइतबार दिउँसो ४ बजे बुद्ध एयरलाइन्सबाट बाराको सिमरामा उत्रिनेछन् । नागरिक अभिनन्दन र धारणा बुझ्दै उनी तराई मधेसका अन्य जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ ।

‘जनतासँग प्रत्यक्ष संवादका लागि उहाँको भ्रमणको तयारी भएको हो, नागरिकका धारणा र समस्याको साक्षात्कार गर्ने कार्यक्रम बनिरहेको छ’, पूर्वराजाको भ्रमण व्यवस्थापनको सहजीकरण गरिरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘हामीले संगठनलाई परिचालन गरिसकेका छौं ।’

यसपटक सिरहा, सप्तरी, सुनसरी हुँदै एक सातासम्म झापामा बस्ने कार्यक्रम तय भएको छ । गत बर्ष पनि स–परिवार उनी झापामा लामो समय बसेका थिए । पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहका साथ पूर्वराजाले झापामा विभिन्न व्यक्तिसँग औपचारिक र अनौपचारिक भेट गर्नेछन् ।

गत बर्ष झापाको लामो बसाईका क्रममा राजावादी भनिएका विभाजित राप्रपाका विभिन्न खेमाका दोस्रो तहका नेतासँग उनको वार्ता र संवाद भएको थियो ।

अघिल्लो महिना पोखरामा भने राप्रपा अध्यक्ष कमल थापासँग उनको भेट भएको थियो ।

पूर्वराजा मुलुकमा हिन्दु धर्म र संवैधानिक राजसंस्था आवश्यक महसुस गरिरहेका छन् । तर, नागरिक चाहनाका आधारमा मात्र त्यो पूरा हुनसक्ने निकटवर्तीसँग भन्ने गरेका छन् ।

‘तराई मधेसका जनताको अवस्था, उनीहरूको चाहना र धारणा बुझ्दै पूर्वराजा झापासम्म पुग्नुहुन्छ’, निर्मनिवास स्रोतले भन्यो,‘नागरिकले बोलाएको ठाउँमा जाने उहाँले प्रतिबद्धता नै गर्नुभएको छ ।’

पोखरा भ्रमण र काठमाडौंमै पनि नागरिकसँग प्रत्यक्ष भेटमा निस्किरहेका पूर्वराजाबारे नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाचेको विषयमा टिप्पणी गरेका थिए । त्यसको सांकेतिक जवाफमा पूर्वराजाले ‘जनतासँग भेट्छु, उनीहरूले चाहेको र भनेको कुरा मान्छु’ भन्ने जवाफ पोखरामा दिएका थिए ।