५ कार्तिक २०८३, बिहिबार

राजनीतिक–सामाजिक विकृतिविरुद्ध नाटक ‘मृत्यालय’

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जीवनको पहिलो आवश्यकता बाँच्नु । यसकारण पनि मान्छे बाँच्नका लागि अनेक संघर्ष गर्छ । बाँच्नु पछाडि मान्छेका के के आवश्यकताहहरु होलान् ? सायद व्यक्तिपिच्छे फरक फरक उत्तर आउला ।

अनि, मृत्यु ? मृत्यु जीवनको आवश्यकता, बाध्यता, रहर वा अरु केही हो ? सायद मान्छे कोहीपनि अकाल मर्न चाहदैन । श्वास रोकिनु मात्र पनि मृत्यु होइन, सायद । देशको राजनीतिक–सामाजिक अवस्थाले मान्छे ‘मरिरहेका’ छन् । जब जब मान्छेका आधारभूत आवश्यकता पुरा हुँदैनन् उसले जीवन होइन मृत्यु बाँच्दछ ।

यस्तै विषय उठान गरेको नाटक ‘मृत्यालय’ काठमाडौँको सर्वनाम थिएटरमा आइतबारदेखि मञ्चन भइरहेको छ । सर्वनाम थिएटका १३ औं ब्याच प्रशिक्षार्थी समूहले तीन महिने बन्द प्रशिक्षण र चार महिने कार्यशाला पश्चात् नाटक तयार पारेका हुन् ।

नाटकमा मुलतः राजनीतिक-सामाजिक विकृतिविरुद्धको व्यंग्य प्रस्तुत गरिएको छ । । राजनीतिक व्यवस्थाहरु जति परिवर्तन भएपनि सत्ता संचालकहरुको शासनशैलीमा सुधार नभएसम्म र नागरिकको आर्थिक, सामाजिक अवस्थामा सकारात्मक सुधार नआएसम्म वास्तविक परिवर्तनको महशुस हुँदैन भन्ने कुरालाई नाटकले देखाउन खोजेको छ ।

देशमा बढ्दै गएको गरिबी र बेरोजगारी अन्त्य गर्न राज्य संचालकहरु सम्वेदनशील नभए देश एक किसिमको मृत्यालयमा रुपान्तरण हुने खतरातर्फ नाटकले सचेत गराएको छ । समाजमा हुने भ्रष्टाचार, बेरोजगार, राजनितिक बेथिति, सामाजिक विसंगती आदिलाई नाटकमा देखाइएको छ ।

नाटकमा आरुषजंग सारु (तारा), बिन्दु बीएम, नरेन भट्टराई, रामकुमार शाही (क्षितिज समर्पण), सम्राट न्यौपाने, मनोज विश्वकर्मा, जनक साउँद, चक्रप्रसाद पोखरेल, दिक्षित महत र सुबास मोक्तान लगायतका कलाकारको अभिनय रहेको छ ।

नाटक आउँदो १२ गतेसम्म चल्नेछ । बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ ।