४ कार्तिक २०८३, बुधबार

साइबर बुलिङ गरे २ बर्ष कैद

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सामाजिक सञ्जाललगायतमा कसैलाई जिस्क्याउने, खिसिट्युरी गरी दिक्क लगाउनेलाई समेत कारबाही हुनेगरी सरकारले साइबर कानुन तयार पारेको छ ।

सामाजिक सञ्जाललगायत अनलाईन न्युज पोर्टललगायतमा हुने अपराधमा सरकारले कानुन तयार पारेको हो । त्यसलाई संघीय संसदमा पेस गरी पारित गर्ने तयारी भएको छ ।

अधिकतम सजाय १५ बर्ष कैद देखि १० लाख जरिवानासम्म तोकिएको छ । यो कानुन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार पारेको हो ।

विधेयकमा विद्युतीय प्रणाली मार्फत यौनजन्य कार्य गर्न जबरजस्ती गरेमा, गर्न लगाएमा वा जुनुसुकै किसिमले धम्क्याएमा दश वर्ष कैद सजाय प्रस्तावित छ । दश लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरी कानुनको खाका तयार भएको छ ।

विद्युतीय प्रणालीको माध्यमबाट बाल अश्लील सामाग्रीको उत्पादन वा संकलन गरेमा वा त्यस्ता सामाग्री देखाउने तथा प्रकाशन प्रसारण गरेमा पनि १० वर्ष कैद र १० लाख जरिवाना प्रस्ताव गरिएको छ । यो कानुन पारित भएपछि बाल अश्लील सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा वा म्यासेन्जरबाट पठाएमा पनि सोही सजायँ भोग्नुपर्नेछ ।

यो बिधेयक पारित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले मुलुकको अखण्डता र जातीय र धार्मिक समुदाय विरुद्ध लान्छना लगाउने कार्य गरेमा कडा सजायका लागि तयार हुनुपर्ने छ ।

विधेयकमा हृयाकरलाई पनि कडा कारवाहीको प्रस्ताव गरिएको छ । संवेनदशील पूर्वाधार सञ्चालन वा सेवामा अनधिकृत पहुँच राखेमा वा अनधिकृत रुपमा अवरोध गरेमा १० लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद हुनेछ ।

विधेयकमा विद्युतीय प्रणालीको प्रयोग गरी मानव बेचविखन तथा अपहरण वा लागु औषध बिक्री वितरणलगायत अपराधिक काम गरे गराएमा ३ वर्ष कैद तथा ५ लाख जरिवाना हुनेछ ।

सामाजिक सन्जाल वा इमेल तथा विद्युतीय प्रणालीको माध्यमबाट कसैलाई हैरानी गर्ने, जिस्काउने, होच्याउने, हतोत्साही बनाउने, हप्काउने, असुविधामा पार्ने जस्ता साइबर बुलिङ गरेमा सो सजाय हुने विधेयकमा प्रस्ताव गरिएको छ ।