शनिबार, २८ पुष २०७५
DainikNepal.com
शनिबार, २८ पुष २०७५

नेविसंघ अध्यक्ष महरलाई आफ्नै गुटले फाल्ने, पौडेल–सिटौला समूह खुसी

दैनिक नेपाल २०७५ पुष २८ गते ८:४९

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवादले गर्दा अहिलेको कार्यसमिति विघठनको संघारम पुगेको छ ।

माउ पार्टी कांग्रेसले दोस्रो पटक थपेको म्याद माघ २ गते सक्किँदै छ । समयसीमाभित्र नेविसंघका अध्यक्ष नैनसिंह महरले काम गर्न नसकेको भन्दै आधा दर्जन बढी पदाधिकारीहरूले शुक्रबार सामूहिक राजीनामा दिएपछि विवाद छताछुल्ला भएको हो ।

राजीनामा दिने पदाधिकारीहरूले अध्यक्ष महरलाई असक्षम भएको आरोप लगाएका छन् । राजीनामा दिने पदाधिकारीहरू सबै महर समूहकै हुन् ।

आफ्नै समूहका पदाधिकारीहरूले अध्यक्ष महरलाई काम गर्न नसकेको र असक्षम भनेपछि नेविसंघभित्र के हुँदै छ भन्ने प्रस्ट भएको विद्यार्थी नेताहरूले बताएका छन् । सामूहिक राजीनामा दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरू खुसी भएको चर्चा नेविसंघभित्र हुन थालेको छ ।

दोस्रो पटक थपिएको म्यादसमेत सकिन लाग्दा नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने कि फेरि म्याद थपेर महाधिवेशन गर्न निर्देशन दिने विषयमा नेविसंघकै नेताहरूमा विवाद छ ।

नेविसंघको बहुमत पदाधिकारी र सदस्यहरूले अहिलेका अध्यक्ष नैनसिंह महरलाई हटाएर नयाँ तदर्थ समिति बनाएर जानुपर्ने पक्षमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने महरलाई तत्काल हटाउने पक्षमा पनि देउवा छैनन् ।

१२औं महाधिवेशन सम्पन्न गर्नभन्दै कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिलाई मंसिर २ गते दुई महिनाको समय थप गरेर माघ २ गतेसम्मको समय दिएको थियो ।

नेविसंघका अध्यक्ष महरले कांग्रेसको महासमिति बैठक, जाडो बिदालगायतका कारण तोकिएको समयभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न नसकिएको दाबी गर्दै आफ्नो बचाउ गर्ने गरेका छन् । महरले कांग्रेस नेतृत्वसँग केही समय थपर आफैले महाधिवेशन गराउने बताउने गरेको एक नेताले बताए ।

महरले नेविसंघले साढे ६ लाख सदस्यता वितरण गरेको दाबी गर्दै आएका छन् । महरको दाबीलाई उनकै संगठनका विद्यार्थी नेताहरूले पत्याएका छैनन् । ७७ जिल्लामध्ये महरले जम्मा १६ जिल्लामा मात्रै अधिवेशन गराउन सकेका छन् । अधिकांश जिल्लामा विवाद छ ।

महामन्त्री कुन्दनराज काफ्लेले हालसम्म ७० प्रतिशत स्कुल तथा क्याम्पसहरूको अधिवेशन सकिएको बताए । उनले माघ २ गतेसम्म २२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न हुने बताएका छन् ।

नेविसंघ निर्देशन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघको बारेमा के गर्ने भन्नेबारे पार्टीले एक–दुई दिनभित्रै निर्णय लिने बताएका छन् ।

पहिलोपटक म्याद थप्दा नेविसंघले १६ कात्तिकदेखि १८ कात्तिकसम्म राजधानीमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । दोस्रोपटक म्याद थप भएपछि समेत २८ देखि ३० पुससम्म महाधिवेशन गर्ने नेविसंघले निर्णय लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित