
काठमाडौं । लामो समयसम्म फिल्म पत्रकारिता गरेपछि निर्देशनमा सक्रिय भएका दिपेन्द्र लामा केही महिना अघि गाईफार्मतिर अलमलिए । कम्प्युटरका किबोर्ड र सहरका रैथाने कथाको समिक्षा गर्ने उनी ‘गोबरसँग’ खेल्न पुगे ।
उनी विपिन कार्की, बर्षा राउत, सुुरक्षा पन्त, भोलाराज सापकोटालगायतका कलाकार बोकेर गाइगोठतिर रुमल्लिनुको कारण थियो– गोपी । गोपी, १८ माघमा रिलिजको तयारीमा रहेको लामा निर्देशित दोस्रो फिल्म हो । पहिलो, घामपानी औसतको चर्चा कमाउन सफल भएको थियो ।
‘मेरो अलमलको एउटा प्रडक्ट अब बजारमा जाने भएको छ । कलम चलाएको हातले गोबर पनि चलाइयो, यसले मलाई केही नयाँ पाठ सिकाएको छ’, उनी भन्छन्,‘राजधानीनजिक घर भएको एउटा शिक्षित युवाको गाइपालन, उनका बुवाको ग्रिनकार्डको सपनाबीचको द्वन्द्वलाई देखाउने प्रयास गरेको छु ।’
रिलिजपछि गोपीको सबैचिज खुल्नेछ । तर, निर्देशक लामा छिपछिप जानकारी दिँदै भन्छन्,‘गाईसँगको मानवीय समवेदना, दैनिकी, गाई पालन व्यावसाय, त्यो सँग सम्बन्धित अनेक पात्रका उतारचढाव र मानवीय भावलाई प्रस्तुत गरिएको छ ।’
फिल्मले कृषकको मर्का, उसको घरपरिवारभित्रको संघर्ष, व्यावसायीक क्षेत्रसँग जोडिएका अनेक पक्षमात्र होइन प्रेम र जीवनको उतारचढावको पनि व्याख्या गर्नेछ । यो यात्राको लेखनी पत्रकार सामिप्यराज तिमल्सिना र निर्माणको कार्यकारी जिम्मेवारी पत्रकार श्रीधर खनालले गरेका छन् ।
‘फिल्म निर्माण गर्नु र समिक्षा गर्नु फरक पाटा भएको निर्देशनको क्रममा मैले अनुभव गरेका विषय हुन् । गोपीको मिहेनतले केही खारिन सिकायो’, लामा जोड्छन्,‘घामपानी निर्देशनको व्यवस्थापकीय पक्ष बलियो हुँदा निर्देशकीय पक्षमा मलाई अनुभवी बनाउने मौका थियो, गोपीमा व्यवस्थापकीयसहित निर्देशनको पाटोमा अझ बलियो बन्ने मौका दियो ।’
गोपी, औसतभन्दा माथि हुनुपर्छ भन्ने उनको मान्यता छ । मिहेनत, कलाकारको ‘डेडिकेशन’को परिणाको मूल्यमा लामा त्यसो ठान्छन् । गाई, दैनिक जीवनको हरेक कोणका बिम्बसँग ठोकिन्छ भन्ने जानकारी दिने कोशीश गरिएको उनी बताउँछन् । तर, धेरैचाहीँ कृषक छोरा र सरकारी जागिरे बुवाको धारणाको द्वन्द्वसँग घुमिरहने उनको तर्कबाट अड्कल काट्न सकिन्छ ।
‘हामी कोही न कोही पृष्ठभुमीका आधारमा कृषकसँग जोडिएका छौं । ग्रामिण बस्ती, घरपालुुवा जनावर गाईसँग जोडिएका छौं’, उनी भन्छन्,‘त्यसैले त्यसप्रतिको भावलाई फिल्ममा उतारेर नेपाली चलचित्र क्षेत्रमा फरक विषय पनि हुन सक्छ, त्यसमा खेल्न सकिन्छ भन्ने विषय छनौट भयो ।’
सुटिङका दौरान व्यावसायीक गाई पालन गर्ने कथाका जस्ते बास्तविक पात्रसँग पनि भेट भएको अभिनेता विपिन कार्की सम्झिन्छन् । उनी भन्छन्,‘मेरो चरित्रजस्तै मेरो ग्रामिण घरेलु दिनचर्या थियो, घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यस हिसाबले काम गर्न सहज भयो ।’
फिल्म लेखनको दौडमा गोपी फरक लेख्ने कोशीश गरिएको र यसले केही न केही सन्देश दिनुका साथै मनोरञ्जन प्रदान गर्न सक्ने लेखक तथा पटकथाकार तिमल्सिना बताउँछन् ।















प्रतिक्रिया