बुधबार, २५ पुष २०७५
DainikNepal.com
बुधबार, २५ पुष २०७५

स्वामी किरण : बाबुराम सरकारका ‘टेको’ बनेका एउटा कुचीकार

दैनिक नेपाल २०७५ पुष २५ गते १३:१६

काठमाडौं, २५ पुस । अनामनगर चोकको एउटा खोल्सो जस्तो कोठामा उनको दिनचर्या बित्छ । त्यहाँ इनामेलका गन्ध छन्, छारस्ट कुची पनि छन् । तिनैसँग रुमल्लिरहेका हुन्छन् ओशोको मालाधारी – स्वामी किरण । साथीभाई, नजिकका चिनजानका व्यक्ति र कतिपय राजनीतिज्ञले उनलाई ‘स्वामी जी’ भन्छन् ।

ओशोको ध्यान दिक्षा समेत लिएका उनको स्वभाव स्पष्ट छ । पेशाले कुचीकार हुन् । संक्रमणकालिन राजनीतिक अवस्थामा राजनीतिज्ञ पनि बनेका थिए ।

सप्तरीको खड्क नगरपालिका घर भएका किरणकुमार मगर काठमाडौं बसेको दुई दशकभन्दा बढी भइसक्यो । पेन्टर पेशामा उनको दैनिकी बितेको थियो । अनामनगर मुख्य चोकमा उनको सानो कटेरो रहेका कारण आवतजावत गर्ने कतिपय र उनीसँग काम लिनेहरूसँगको कुराकानीले उनको परिचयका दायरा पनि फराकिला बन्न थाले । के फिल्मकर्मी, के वकिल, के पत्रकार, के राजनीतिज्ञ सबैसँग उनको संगत छ ।

‘अनामनगरमा यहि काम जारी राखेका बेला ठोक्किने हरेकसँग मेरो परिचय स्थापित भयो । विस्तारै राजनीतिमा पनि ध्यान खिचियो, एक समयमा राजनीति पनि गरियो’, उनी सम्झन्छन् ।

कतिपय अवस्थामा त सरकार गिराउने रणनीतिक खेल कस्तो हुँदो रहेछ भन्ने विषयमा पनि संश्लेषण हुन्थ्यो । हामी ‘संविधान बनाउन अघि बढ्नुस् सँगै छौं’ भनेर ढाडस दिन्थ्यौं

कुची चलाउनु उनको स्थायी पेसा बन्यो । तर अस्थायी समय राजनीतिमा बिताउँदा उनी जनता दल युनाइटेडका उपाध्यक्ष थिए । अहिले पनि छन् । ‘दलको अहिलेचाहीँ थ्रेसहोल्डका कारण संसदीय अस्तित्व छैन तर ०६४ को चुनावमा अस्तित्व भएको दल हो’, उनी भन्छन्,‘पहिलो संविधानसभाको ६ बर्ष भने राजनीतिका उतारचढाव धेरै देखें ।’

तत्कालिन सरकारहरूसँग हुने हरेक प्रकारका छलफलमा मगर नै पुग्थे । त्यो अख्तियारी अध्यक्षले दिएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई समर्थन गरेका मधेसी दलसँगै अन्य १९ साना मध्ये उनको पनि एक दल थियो ।

‘सरकार सञ्चालनका लागि हुने हरेक छलफलमा बालुवाटारदेखि सिंहदरबारसम्म हामीले सल्लाह दिएका थियौं’, उनी बालुवाटारको बैठक कक्षमा बसेका अनुभवबारे खुल्छन्,‘कतिपय अवस्थामा त सरकार गिराउने रणनीतिक खेल कस्तो हुँदो रहेछ भन्ने विषयमा पनि संश्लेषण हुन्थ्यो । हामी ‘संविधान बनाउन अघि बढ्नुस् सँगै छौं’ भनेर ढाडस दिन्थ्यौं ।’

कांग्रेस र तत्कालिन एमाले प्रतिपक्षमा रहँदा माओवादीको नेतृत्व गरी प्रधानमन्त्रीको कुर्सीमा पुगेका डा. भट्टराई संकटमा पर्दाका समयका ‘टेको’ बनेका उनी भन्छन्,‘कहिलेकाहीँ त सरकार नै गिराउने, सैन्य शासन लागु हुने जस्ता कुरा सुनियो । डर पनि लाग्थ्यो ।’

संविधानसभाबाट संविधान जारी हुने अवस्था थिएन । संविधानसभा भंग हुने लगभग संकेत पाइसकेका बेला सेनाले सत्ता हत्याउन सक्ने, प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार नै घेरा गर्न लाग्यो भन्ने सुन्दा उनी पसिना पसिना पनि बनेका थिए ।

संक्रमणकालिन अवस्था, राजनीति कता जाने हो भन्ने चिन्ता, ठूला प्रतिपक्षीको गठजोड, कमजोर सरकार र छाया सरकार जस्तो देखिने सेना नै विपक्षमा छ भन्ने बेला मुलुकमा कोल्टे फेर्न कठिन छ भन्ने नेताका विश्लेषणले कहिलेकाहीँ राजनीति किन गरिएछ ! भन्ने पनि लाग्थ्यो उनलाई ।

उनी भन्छन्,‘तर राजनीति त हरेक सम्भावनाको खेल रहेछ । अहिले त्यसबेलाका कट्टर दुश्मन र भिडिरहने एमाले र माओवादी मिलेर एक भए, एकमात्र भएनन् बलियो सरकार पनि बनाए ।’

उनी राजनीति अस्थाई काम भएकाले कुची छाड्न नसकेको बताउँछन् । थप्छन्,‘यो यस्तो अस्थाई खेल रहेछ हामीले समर्थन गरेका बाबुराम कांग्रेससँग मिले, एमाले प्रचण्डसँग मिल्यो । यस्तो अस्थाई खेललाई स्थायी पेशावालाले अनुभवचाहीँ गरियो ।’

प्रतिक्रिया
सम्बन्धित