काठमाडौं, २१ पुस । केन्द्रीय कमिटी एकीकरण सम्पन्न भएको सात महिनासम्म जिल्ला, जनसंगठन र स्थानीय तहसम्म एकीकरण अल्झिएको छ । एकीकरणका लागि असारयता मात्र चार तहका कार्यदल बनिसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पहिलो चरणमा तत्कालीन एमाले र माओवादीका स्थायी समिति सदस्य तथा प्रदेश संयोजक रहेका नेताहरू प्रमुख रहने गरी कार्यदल बनेको थियो । सो कार्यदलले भदौ पहिलो साताभित्र कुन जिल्लाको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने टुंगो लगाएर सम्भावित अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम सिफारिस गरेको थियो । कार्यदलले प्रदेश कमिटीमा रहने नामावली पनि सिफारिस गरेको थियो ।
प्रदेश तहको कार्यदलअन्तर्गत तत्कालीन दुवै पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षसहितका पदाधिकारी रहेको छुट्टै कार्यदल बनाइएको थियो । यो कार्यदलले जिल्ला कमिटी सदस्यहरूको संख्या र नामसहितको खाका प्रदेश कार्यदललाई दिएको थियो ।
जनसंगठनहरू एकीकरणका लागि समेत छुट्टाछुट्टै कार्यदल बने पनि कुन संगठनको नेतृत्व तत्कालीन एमाले र माओवादीमध्ये कसले लिने ठोस टुंगो नलगाई प्रतिवेदन पेस ग(यो । एकीकृत जनसंगठनको नाम र संख्यासहित नामावली मात्र पार्टी सचिवालयमा पेस भएको थियो ।
एकीकरणको बाँकी कामको ठोस प्रस्ताव कुनै पनि कार्यदलबाट सचिवालय र स्थायी समितिमा पेस नभएपछि नेकपाभित्र असन्तुष्टि चुलियो । एकीकरणको काम र कार्यविभाजनमा ढिलाइबारे २९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समितिमा धेरै नेताले व्यापक असन्तुष्टि पोखे । त्यसपछि महासचिव विष्णु पौडेल, रामबहादुर थापालगायत सम्मिलित चौथो कार्यदल गठन गरियो । यो कार्यदललाई पुस मसान्तभित्र सबै टुंगो लगाउनका लागि निर्देशन भएको छ ।















प्रतिक्रिया