५ कार्तिक २०८३, बिहिबार

निर्देशक प्रकाश भट्ट : भूकम्पको ‘इपिसेन्टर’देखि, म्यूजिक भिडियोको इपिसेन्टरसम्म

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । करिब ५ हजार म्यूजिक भिडियो निर्देशन गरेकामा गनिन्छन् निर्देशक प्रकाश भट्ट । उनको अनामनगरमा कार्यालय छ । केही कर्मचारी छन् । सुटिङका लागि चाहिने सबै सामग्री आफ्नै छ । संगीतमा पूर्ण व्यावसायीक बाटो समातेका छन् ।

तर, यहाँसम्म आइपुग्न उनले धेरै प्रकारका हन्डर खाएका छन्, अनुभव बटुलेका छन् ।

गोरखाबाट काठमाडौं आएका उनी कुशल नृत्य निर्देशक पनि हुन् । १७ बर्षको दौरानमा यसै क्षेत्रमा उनका उतारचढावका अनेक अनुभव त छँदै छन्, त्यसबाहेक काठमाडौं बसाईका क्रममा गरेका संघर्षका कथा पनि अनौठा छन् ।

संगीत बजारमा जम्नुअघि मार्केटिङमा रुमल्लिएका थिए । सुनाए,‘माडवारीको कपडा पसलमा केही समय काम गरें, त्यसपछि स्टेशनरीको मार्केटिङ पनि गरें ।’

०७२ सालको भूकम्पले केन्द्रविन्दु (इपिसेन्टर) बनाएको बारपाक सुलिकोट गाउँपालिकाको ताखुकोट उनको पुख्र्यौली थलो हो । अहिले पनि त्यहाँ उनका दुई टहरा बनिरहेका छन् । तर, आफू बस्ने घर भने काठमाडौंको सतुँगलमा २०६७ सालमा नै बनाए, जति बेला उनलाई म्यूजिक भिडियो निर्देशन भ्याई नभ्याई थियो ।

माडवारीको कपडा पसलमा केही समय काम गरे, त्यसपछि स्टेशनरीको मार्केटिङ पनि गरे, भएको एउटा मोटरसाइकल बेचेर कतिपय निर्देशक र भिडियो सम्पादकलाई उनले खाजा खुवाउन परेको थियो

अनेक विधामा निर्देशन गरेका उनी लोक गीतको म्युजिक भिडियोबाट अधिक परिचित छन् । बद्री पंगेनीदेखि पशुपति शर्मासम्मका सफल म्युजिक भिडियोका पर्दा पछिका असली हिरोचाहीँ भट्ट नै थिए । ‘भैंसी पालेर..’, ‘मलाई अमेरिका यही…’ मात्र होइन ‘क्याम्पस पढ्न आउनी…’ लगायतका कयन सफल म्युजिक भिडियोको निर्देशन भट्टले नै गरेका हुन् ।

संगीत बजारमा उनको प्रवेश भनेचाहीँ कोरस डान्सिङबाट भएको थियो । मार्केटिङ गरिरहेको केटो नृत्यमा कसरी पारङ्गत भयो त ? भन्छन्,‘काभ्रेमा करिश्मा मानन्धरको ‘ढुकढुकी’ फिल्मको गीतको छायांकन भइरहेको थियो । त्यहाँ हेर्न गइयो । बसन्त श्रेष्ठले नाच्न सिकाएको, उनैले जे भन्यो त्यहि गरेको देखेपछि निर्देशक बन्ने रहर जाग्यो ।’

एउटा नृत्य निर्देशकको शक्ति देखेपछि उनी नाच्न लालयित भए । डिल्लिबजारमा प्रतिभा कला केन्द्रमा नृत्यको कक्षा लिएर उनी नेपाल टेलिभिजनको ‘आँगन’ भन्ने कार्यक्रममा भिडे । तर, चार जनामा चौथो भएपछि उनमा कमी रहेको महसुस गरे । ‘अनि मैले अझ सिक्न बाँकी रहेछ भनेर फेरि नृत्यको कक्षा लिन थालें’, उनी सुनाउँछन्,‘अब केही गर्न सकिएला भन्ने आत्मविश्वास हुन थाल्यो ।’

त्यति सिक्नासाथ उनको भाग्यको द्वार भने खुलीसकेको थिएन । उनले धेरैलाई पापड बेल्न परेको थियो । भएको एउटा मोटरसाइकल बेचेर कतिपय निर्देशक र भिडियो सम्पादकलाई उनले खाजा खुवाउन परेको थियो । पारिश्रमिक पाउन त परै जाओस्, उल्टै खर्च गर्नुपर्ने हुन्थ्यो । उनी सम्झन्छन्,‘भिडियोमा पछाडीतिर नाचिन्थ्यो । पैसा पाइएन । बरु, उल्टै खर्च गरेर अनुहार देखाउन पर्ने अवस्था थियो ।’

कलाकारसँग रकममा डिल गरेर भिडियो बनाइदिन्छु भन्ने, यता निर्देशक र सम्पादनमा काम गर्नेलाई कम रकम दिएर, झुलाएर काम गराइदिने प्रवित्ति हावी छ

भट्टको टर्निङ प्वाइन्ट भने इन्द्र जिसीको ‘टाढा पर्यो पाई’ गीतबाट भएको थियो । थोरै भए पनि पारिश्रमिक लिएर उनले उक्त गीतमा आफू पनि नाचे र अरुलाई पनि नचाए । गीतमा काम दिलाउनका लागि उनलाई स्व. गोपाल बास्कोटाले सहयोग गरेका थिए ।

त्यसअघि उनले ६० देखि ७० वटा म्युजिक भिडियोमा काम गर्दा, निर्देशन गर्दा पारिश्रमिक पनि पाएका थिएनन् । अहिले कठोर व्यावसायीक बाटो अँगाल्नुको कारण खोल्दै उनी भन्छन्,‘त्यसैले अहिले मसँग काम गर्न आउने कलाकारले पारिश्रमिक गुम्दैन भन्ने ग्यारेन्टि ठान्छन् ।’

लोक भाका उकालो लाग्दै गयो, भट्टको कामले पनि गति लिँदै गयो । अब अडियो वा यदाकदा भिडियोमा मात्र सीमित नभई अनिवार्य भिडियो बन्न थालेपछि भट्टको सृजनशीलता झन् तिव्र भयो । त्यसपछि उनी व्यस्त निर्देशकका रूपमा स्थापित भए ।

संयुक्त अरब इमिरेट्सलगायतका मुलुकमा प्रस्तुती दिन पुगेका बेला उनले एकै पटक १७ वटा म्युजिक भिडियो पनि निर्देशन गर्न भ्याए । त्यहाँ कार्यरत नेपाली श्रमिकलाई अभिनय गराउन भ्याए । ‘लोक संस्कृतिले देश विदेशमा पनि रुची बढायो, हामी पनि व्यस्त हुन थाल्यांै’, उनी भन्छन्,‘यहि बेलामा मैले पनि मिहेनत गर्ने र केही रकम कमाउने मौका पाएँ ।’

उनले ल्याएका कतिपय कलाकार विदेश पलायन भए । कतिपय भने अब्बल दर्जाका निर्देशक र नृत्य निर्देशकका रूपमा स्थापित छन् । उनी भन्छन्,‘उनीहरू आफ्नो क्षमताका कारण आए, मैले त डेब्यु मात्र गराएको हो । बाँकी उनीहरूभित्र रहेको कलाकारिताले नै काम गरेको हो ।’

उनी मौलिक गीतमा काम गर्छन् । त्यस्ता कलाकार पनि खोज्छन् । रोइला, लोक लयका विभिन्न भाकामा काम गर्न रुचाउँछन् ।

बिचौलियाको समस्या
हरेक क्षेत्रमा जस्तै, संगीत र मनोरञ्जनमा पनि बिचौलियाको दबदबा रहेको भट्टको दाबी छ । त्यसलाई पुष्टि गर्ने दलिल अगाडी सार्दै भन्छन्,‘कलाकारसँग रकममा डिल गरेर भिडियो बनाइदिन्छु भन्ने, यता निर्देशक र सम्पादनमा काम गर्नेलाई कम रकम दिएर, झुलाएर काम गराइदिने प्रवित्ति हावी छ ।’ उनकै शव्दमा ‘यस्ता एकाध बिचौलियाले यसैगरी काठमाडौंमा घर समेत ठड्याइसकेका’ छन् ।

कामको व्यावसायीकता हुनुपर्ने मान्यता राख्छन्, भट्ट । त्यसैले अस्वस्थ्य प्रतिष्पर्धाका विरोधी पनि हुन् । भन्छन्,‘हाम्रो क्षेत्रमा अहिले विकृत विचार र मानसिकताले पनि काम गर्न थालेको छ । सर्जकलाई सस्तो चाहिने, निर्देशकलाई पैसा । यसमा बिचौलियाले कमाउने मौका पाएका छन् ।’

अवार्डसँग दिक्दारी !
उनले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानलगायतले गरेका कतिपय अवार्ड हात पारेका छन् । तर, अचेल अवार्डसँग नै दिक्दारी लाग्ने गरेको छ ।

आयोजकले सृजनालाई हेरेर भन्दा पनि पैसा मागेर अवार्ड बाँड्न थालेकोप्रति दुखी छन् । भन्छन्,‘विभिन्न समूह र झुन्डले कमाई खाने भाँडो बनाएका छन् । राज्यले अवार्डका विषयमा कुनै नीति र नियम बनाएको छैन ।’

कतिपयले त ‘कति रकम तिर्ने, तपाईको भिडियो नोमिनेशनमा परेको छ’ भन्दै फोन पनि घुमाउँछन्, उनलाई । भन्छन्,‘कतिले त यत्तिकै कार्यक्रममा प्रस्तुतीका लागि पनि अफर गर्छन् । यस्तो अस्वस्थ्य सम्झौतादेखि दिक्क लाग्छ ।’