२८ आश्विन २०८३, बुधबार

झापाली नेताहरुसँग ओलीले भने- अब विकास निर्माणले तीव्रता पाउँछ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताएका छन् । झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय अधिकृतहरुसँग बुधबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कस्ले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए । ‘यस्ता द्विविधाले पुराना भन्दा नयाँनयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो’, ओलीले भने, ‘अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तीव्रताका साथ अगाडि बढ्छन् ।’

प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए । दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको, पशु हाट बजार केन्द्र सम्पन्न भएको, दमक भ्यूटावरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ ।

दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराए । यसैगरी दमक ३ मा निर्माण हुने विश्वकै अग्लो बुद्धको मुर्तिका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको, २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारिस गरी पठाएको तिम्सिनाले उल्लेख गरे । आयोजनाको डिपिआर तयार भएको र दमकनगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समिति बनाएको तिम्सिनाले जानकारी गराए ।

यसैगरी दमक नगरपालिकाले सञ्चालन गरेका नगरपालिका भवन, शहिद वनबाटिका, घण्टाघर सहितको रोज गार्डेन, विपन्नका लागि नमुना आवास गृह निर्माण, सुनचाँही टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।

कनकाइ नगरपालिका काप्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा–झापा सडक, लक्ष्मीपुर–घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे । पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैयाँ विनियोजन गरिदिन माग गरे । यसैगरी अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराए ।

प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरुले राखेका मागका बारेमा आफू सकारात्मक रहेको बताए । प्रतिनिधी मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्रा निरौला खरेल, पूर्व साँसद दिपक कार्की, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेताहरु चिन्तन पाठक, गगन पुरी लगायत सहभागी थिए ।