बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

जाडोको वेला स्वस्थ रहन अपनाउनुस् यी उपाय

दैनिक नेपाल २०७५ पुष १८ गते १५:३७

काठमाडौं, १८ पुस । पुस/माघको समय वर्ष भरिकै सबैभन्दा चिसो मौसम हुने समय हो । यसवेला मौसम परिवर्तनसँगै स्वास्थ्यमा पनि परिवर्तन देखा पर्छ ।

काठमाडौंलगायत देशैभरको तापक्रम यतिवेला निकै घटेको छ । यस्तो मौसममा विभिन्न किसिमका शारीरिक समस्याहरु पनि देखिने गर्छन् । समस्याबाट जोगिन स्वास्थ्यसम्बन्धी कुरामा ध्यान दिनु आवश्यक छ ।

जाडो मौसममा अपनाउनु पर्ने केही टिप्स् हेर्नुस्ः

विहानको शारीरिक व्यायामः

गर्मी मौसमका वेला गरिने शारीरिक कसरतको समयतालिका जाडो मौसमका वेला परिवर्तन गर्नुपर्छ । हरेक दिन विहान गरिने शारीरिक व्यायामको समय परिवर्तन गरी घामलागेपछि गर्नुपर्छ । विहान चिसो समयमा बाहिर निस्किँदा त्यसले हाम्रो शरीरलाई प्रत्यक्ष असर पर्छ ।

योगा वा ध्यानः

अरु समयमा शारीरिक व्यायाम गरिने समयमा जाडोका वेला मानसिक कसरत गर्न सकिन्छ । विहान सबेरै उठेर प्रणाम, ध्यान, योगा आदि गर्न सकिन्छ । यस्ता कसरत घरमै बसेर गर्न सकिने हुँदा बाहिरको चिसोबाट बच्न सकिन्छ । योगा वा ध्यानपछि मात्र बाहिर निस्कने गर्नाले चिसोबाट बच्न सकिन्छ ।

तातो झोलिलो पदार्थ पिउनेः

जाडोका समयमा अन्य समयमा भन्दा कम पानी पिउने गरिन्छ । यसले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम भई विभिन्न रोगहरुले समात्न सक्छ । यसकारण झोलिलो पेय पदार्थहरु तातो बनाएर पिउनुपर्छ । जसले शरीरलाई चाहिने पानीको मात्रा परिपूर्ति गर्दछ भने जाँगर बढाउँछ ।

चिया/कफी वा अल्कोहलिक पेय पदार्थको सेवनः

शरीरमा स्फूर्ति जगाउन तथा तत्काल चिसो महसुस हुनबाट बचाउन चिया वा कफी राम्रो पेय पदार्थ हो । तर चिसो समयमा बढि मात्रामा पिउने चिया वा कफी पनि त्यत्ति धेरै पिइरहनु पनि राम्रो होइन । मात्रा मिलाएर विहान दिउँसो खाजाको समयमा पिउनु राम्रो मानिन्छ । ग्रिन तथा ब्ल्याक टी पिउनुपर्छ ।

यस्तै चिसो मौसममा अल्कोहलिक पदार्थ पनि धेरै पिउने गरिन्छ । तर सकेसम्म यस्ता पेय पदार्थ सेवन नगर्नु राम्रो हुन्छ । तर पिउनै परेमा पनि वियरलगायत चिसो बनाउने पेय भने पिउनु राम्रो हुँदैन ।

ताजा र तातो खानेकुरा खानेः

जाडो मौसममा स्वस्थ रहन तातो खाना खानुपर्छ । एकैपटक धेरै खानुभन्दा थोरैथोरै खाइरहनुपर्छ । तातो सूप पर्याप्त पिउनुपर्छ । यसले शरीर तातो राख्छ भने रोगप्रतिरोधक क्षमता पनि बढाउँछ ।

मनतातो पानीको प्रयोगः

जाडो मौसममा चिसो पानीले नुहाउनु हुँदैन । चिसो पानी प्रयोग गर्दा छालालाई प्रत्यक्ष असर पर्छ । त्यसैले तातो पानीले नुहाउनु पर्छ । यसका साथै पिउने पानी पनि तताएर मात्र प्रयोग गर्नुपर्छ ।

छालाको हेरचाहः

चिसो मौसममा प्रायः छाला शुख्खा हुन्छ । खस्रो हुनुका साथै यसले सुन्दरतामासमेत असर गर्छ । त्यसैले जाडोको समयमा आझ्नो छालालाई सुहाउँदो बडीलोसनहरु प्रयोग गर्नुपर्छ ।

खानेकुराः

जाडोमा छोकडाको सेवन बढाउनुपर्छ । यसले शरीर तातो बनाउनुका साथै जाडोबाट जोगाउँछ । यस्तै बदाम, सुन्तलालगायत मौसम अनुसारका फलफुल पनि खानुपर्छ ।

घाम वा हिटरको प्रयोगः

सकेसम्म विहानको समयको घाम ताप्नु राम्रो हुन्छ । भिटामिन डी का साथै न्यानोसमेत बनाउने हुनाले जाडोका समयमा घाममा बस्नु अत्यन्त राम्रो हो । तर साँझ परेपछि वा घाम नलाग्ने ठाउँहरुमा हिटर लगायत ताप नियमित गर्ने विद्युतीय सामानहरु प्रयोग गर्न सकिन्छ तर यस्ता सामानहरु प्रयोग भइरहँदा कोठाको कम्तिमा एउटा झ्याल खुल्ला नै रहने ब्यवस्था मिलाउनुपर्छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित