
काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भनेर सोधेका छन् । मंगलबार नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा बालबालिकाहरुले निर्मलाको हत्यारा चाँडो पत्ता लगाउनुपर्ने माग गर्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
जावफमा प्रधानमन्त्री ओलीले घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर रुपमा लागिरहेको बताए । ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ’, ओलीले भने, ‘अहिले उच्च स्तरीय छानविन समिति गठन गरेर अनसुन्धान भइरहेको छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटक–पटक निर्देशन पनि दिएको छु ।’
बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुङ्गामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाए । ‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाह आदि’, प्रधानमन्त्री ओलीले भने, ‘दुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।’
प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे, ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन । र, आगामी वर्षदेखि विद्यालय उमेरका कोहीपनि बालबालिका विद्यालयबाहिर पनि हुँदैनन् ।’
ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताए । ‘विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषा चाहिँ नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाहिँ होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।’
साथै ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने पनि बताए । ‘बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु । नयाँ पिढिको चेहरामा मुस्कान हुनुपर्दछ । मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ । कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन । समाज समतामुलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु’, प्रधानमन्त्री ओलीले भने ।















प्रतिक्रिया