
काठमाडौँ, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कार्यदलको बैठक बस्ने भएको छ । एकीकरणका बाँकी काममा गृहकार्य गर्न गठित कार्यदलको पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
गएको शुक्रबार स्थायी समिति बैठक समापनको दिन ९ सदस्यीय कार्यदल गठन गरिएको थियो । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनेछन् ।
बैठकमा अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिने बताइएको छ । नौ सदस्यीय कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता भएको लामो समय बित्दा पनि तत्लो तहका एकताको काम बाँकी नै रहेको छ । नेकपाले अहिलेसम्म प्रदेश कमिटीको मात्र एकता टुंग्याएको छ ।
पार्टीको पोलिटब्युरो गठन, जनवर्गीय संगठनहरुको पनि एकता लगायतको काम बाँकी छ । यस्तै केन्द्रीय निकायका विभिन्न विभागहरु पनि बन्न बाँकी छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत हुन सकेको छैन ।
कार्यदलले जिल्ला कमिटीदेखि जनवर्गीय संगठनको एकीकरणको लागि स्पष्ट मापदण्ड बनाएर नेतृत्वलाई पेश गर्ने बताइएको छ । पुसभित्रै एकता सक्ने भनेपनि असम्भव जस्तै देखिएको छ ।















प्रतिक्रिया