
काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् ।
शारीरिक सुगठनमा हालै मात्र आयोजना भएको विश्वस्तरको प्रतिष्पर्धामा स्वर्ण पदक विजेता महर्जन प्रचण्ड निवास खुमलटारमा अध्यक्षलाई भेट गर्न पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेको भन्दै बधाई दिए ।
‘तपाईले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’, प्रचण्डले भने, ‘विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाईको प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।’
आफूले खेल क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको भन्दै उनले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताए । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने समेत बताए ।
खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए ।
अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने बताए ।















प्रतिक्रिया