बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

यस्ता छन् सन् २०१८ मा विज्ञान तथा प्रविधिमा भएका दश प्रमुख खोज

दैनिक नेपाल २०७५ पुष १४ गते १६:५०

– सुरेन्द्रबहादुर नेपाली
काठमाडौँ, १४ पुस । अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट गरेको छ ।

सामान्यतया ‘‘महत्वपूर्ण’’ भन्ने शब्दका विषयमा प्रश्न गर्ने गरिन्छ र रिभ्युमा उल्लेख भएका सबै प्रविधि अझै व्यापक उपयोगमा पुगेका पनि छैनन् । यसो भए पनि यी प्रविधि वा प्रविधिका समूहले मानव जीवनमा महत्वपूर्ण प्रभाव पार्छ भन्ने सोचमा भने रिभ्यु समिति विश्वस्त छ ।

यस वर्ष कृत्रिम बुद्धिमा ‘ग्यान्स’ नाम गरेको प्रविधिले मसिनलाई कल्पनाशीलता दिनेछ, नैतिकस्तरमा समस्या भए पनि कृत्रिम गर्भले जीवन कसरी सिर्जना हुनसक्छ भन्ने विषयलाई पुनः परिभाषा गर्नेछ र मानव जीवनका आरम्भका समयका लागि अनुसन्धानको ढोका खोल्नेछ र टेक्सासको पेट्रोरसायन उद्योगमा प्राकृतिक ग्यासबाट कसरी पूर्णतया स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने प्रविधि तथा अन्य प्रयासलाई रिभ्युले ध्यान दिनैपर्ने १० महत्वपूर्ण प्रविधिको रूपमा स्वीकार गरेको छ ।

१. धातुको त्रिआयामिक छपाइ
त्रिआयामिक छपाइ बजारमा आएको केही दशक भइसकेको छ र यो हालसम्म सोख तथा नमूना उत्पादनका डिजाइनरहरूका लागि उपयोगी बनेको छ । प्लास्टिकबाहेक र विषेशगरी धातुका छपाइ महङ्गो तथा निकै ढिलो हुनेगर्छ । अब यस्तो छपाइ सस्तो तथा उत्पादनका लागि व्यवहारिक हुने सम्भावना देखिएको छ । यसले बस्तुको ठूलो मात्रामा उत्पादनको विधिलाई परिवर्तन गर्नेछ ।

पुराना गाडीका बिग्रेका पुर्जा तथा ग्राहकको आवश्यकता अनुसार नयाँ स्वरूपको उत्पादन गर्न यस प्रविधिले सहयोग गर्ने डेरेक ब्रानीको धारणा छ । लरेन्स लिभरमोर नेसनल ल्याबोरेटरीका अनुसन्धानकर्ताहरूले त्रिआयामिक छपाइका माध्यमबाट स्टेनलेस स्टिलबाट परम्परागतरूपमा बनेका भन्दा दोब्बर बलियो उत्पादन प्राप्त गर्ने प्रविधि विकास गरेको दाबी गरेका छन् । बोस्टनको बाहिरी भागमा स्थापित मार्कफोज्र्ड, डेस्कटप मेटल तथा जीईले पनि यस्ता प्रिन्टर बजारमा ल्याएका छन् ।

२. कृत्रिम गर्भ
क्याम्ब्रिज विश्वविद्यालयका गर्भविद्हरूले डिम्ब र वीर्य नभइ मूलकोष मात्र उपयोग गरी मुसाका लागि प्राकृतिकजस्तै भ्रूण सिर्जना गरी जीवन कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरालाई पुनः परिभाषा गरेका छन् । यसबाट मानवजीवन कसरी आरम्भ भयो भन्ने सहस्यमय ज्ञान प्राप्त गर्न सजिलो त हुनेछ तर यसले जीवनीतिका विषयमा नयाँ विवाद सिर्जना गर्नेछ ।

‘‘हामीलाई मूलकोषको क्षमता जादुमय हुनसक्छ भन्ने थाहा थियो तर उनीहरूले आफैँलाई त्यसरी संयोजन गर्नेछन् भन्ने हामीलाई थाहा थिएन ।’’, यस्तो एक समूहमा काम गर्ने म्यागडिलना जर्निका गोजले बताउनुभयो ।

अनुसन्धानकर्ताहरूले मूलकोषलाई त्रिआयामिक मञ्चमा राखिदिँदा तिनीहरू मुसाको गर्भजस्तो गोलीका आकारमा परिणत हुनथाले । उहाँका अनुसार डिम्ब नभइकन पनि स्तनधारी जन्माउन सकिन्छ भन्ने यस प्रविधिले सङ्केत दिन्छ । हाल मिसिगन विश्वविद्यालय तथा रकफेलर विश्वविद्यालयमा मानवका मूलकोषबाट कृत्रिम भ्रूण बनाउने विषयमा अध्ययन भइरहेको छ ।

३. संवेदनशील नगर
अनेकौँ स्मार्ट नगर निर्माणमा ढिलो भएको छ र तिनीहरूका उद्देश्य कमजोर भएको छ वा निकै धनीका लागि बाहेक अरुका लागि निकै खर्चिलो बनेको छ । टोरन्टोमा बन्न थालेको नयाँ परियोजनाको नाम किसाइड रहेको छ र यसले पछिल्ला डिजिटल प्रविधिलाई समेटेर सतहदेखि नै नयाँ सहरी ढाँचा निर्माण गर्ने योजना बनाउने र पहिला देखिएका असफलता हटाउने अपेक्षा गरेको छ ।

यसबाट स्मार्ट नगर सामान्य आर्थिक क्षमता भएका व्यक्तिका लागि पनि बसोवास गर्न सकिने तथा वातावरण मैत्री हुने अनुमान गरिएको छ ।

सन् २०१७ मा योजना तयार भएको तथा सन् २०१९ मा निर्माण आरम्भ हुने यस परियोजनालाई अल्फाबेटको साइडवाक ल्याब्सले क्यानडा सरकारको सहयोगमा टोरन्टोको औद्योगिक समुद्री किनारमा अगाडि बढाएको छ ।

यहाँ हावाको गुणस्तरदेखि आवाजको स्तर र वासिन्दाको क्रियाकलापसम्मका विषयमा व्यापक डिजिटल सेन्सर सञ्जालको माध्यमबाट अनुगमन गरी तथ्याङ्क सङ्कलन हुने र त्यसैका आधारमा ढाँचा, नीति, प्रविधि तथा सूचना तयार हुने लक्ष्य राखिएको छ ।

यहाँ सवारीका साधन स्वचालित हुनेछन् र साझेदारीमा चल्नेछन् । हातले गर्नुपर्ने काम रोबटले भूमिगत रूपमा गर्नेछन् । यस सहरले बनाएको सफ्टवेयर तथा प्रणालीमा अन्य कम्पनीले आफ्ना लागि एप्स तयार गर्नेछन् । सान फ्रान्सिस्को, डेनभर, लस इन्जलिस तथा बोस्टनले पनि यस्तै नगर बनाउने चाहना व्यक्त गरेको साइडवाक ल्याब्सका कार्यकारी अधिकृतले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

४. सबैका लागि कृक्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स)
हाल आर्टिफिसिल इन्टेलिजेन्स (एआई) एमेजन, बाइदु, गुगल तथा माइक्रोसफ्ट जस्ता ठूला कम्पनीका लागि खेल्नेकुरा भए पनि अन्य कम्पनीका लागि महङ्गो तथा कार्यान्वयन गर्न कठिन बनेको छ । अर्कोतिर क्लाउडमा आधारित एआई भने सस्तो तथा सजिलै उपयोग हुनसक्ने देखिन्छ ।

हाल अमेजनले ग्लुअन, माइक्रोसफ्टले अजुर, गुगलले क्लाउड अटोएमएल मार्फत यो सेवा उपलब्ध गराउन थालेका छन् ।

५. द्वन्द्वरत स्नायु सञ्जाल
आर्टिफिसियल इन्टेलिजेन्सबाट वस्तु पहिचान गर्न निकै सजिलो भएको छ । यसले बाटोमा हिँडिरहेको व्यक्तिलाई पहिचान गर्नसक्छ तर यसले व्यक्तिको कल्पना आफैँ गर्न भने सक्दैन । यस्तो भइदिए स्वचालित गाडीलाई बाटोमा नलाँदै तालिम दिनसकिने थियो ।

हाल दुई आर्टिफिसियल इन्टेलिजेन्सलाई भिडाएर अतिवास्तविक चित्र, आवाज वा अन्य कुरा सिर्जना गर्न प्रयास गरिएको छ । यस्तो कार्य पहिले मेसिनले गर्न सक्दैन थियो । यस्तो प्रविधिले मेसिनलाई कल्पनाशीलता दिनेछ र मेसिन मानिसमा भर नपर्ने हुनसक्नेछ । डिजिटल प्रविधिमा यो निकै शक्तिशाली औजार हुनेछ ।

कुनै समय मन्ट्रियल विश्वविद्यालयका विद्यावारिधिका विद्यार्थी इयान गुडफेलोले यस विषयमा अनुसन्धान गरेका छन् । उनको विधिलाई जेनेरेटिभ एमभरसरियल नेटवर्क (ग्यान) भनिन्छ ।

६. ब्याबेल फिस इयरबड (कानमा लगाउने अनुबादक)
गुगलले हाल बजारमा १५९ अमेरिकी डलरमा कानमा लगाउने पिक्सेल बड्स ल्याएको छ । पिक्सेल स्मार्टफोन तथा गुगल ट्रान्सलेट एपको सहयोगमा अरुको भाषालाई तत्कालै अनुवाद गर्ने यो यन्त्र तयार भएको हो ।

यसमा ठूलो सङ्ख्यामा भाषाहरूलाई अनुवाद गर्ने व्यवस्था गरिएको छ र यो लगाउन पनि सजिलो छ । त्यसो त मानव सञ्चारमा भाषा अझै पनि बाधाको विषय बनेको छ । यो आईओएस र एन्ड्रोइडमा चल्नसक्छ ।

यसो भए पनि वातावरणको आवाजले भने यस प्रविधिलाई समस्या दिएको छ र एउटा व्यक्तिले कहिले बोल्न रोक्छ र कहिले पुनः आरम्भ गर्छ भनी यसले अझै अनुमान गर्न सक्दैन ।

७. शून्य कार्बनयुक्त प्राकृतिक ग्यास
विश्वले अब विद्युत उत्पादनका लागि प्राथमिक स्रोतको रूपमा प्राकृतिक ग्यासमा भर गर्नुपर्ने हुनसक्छ । हाल अमेरिकामा उत्पादन हुने विद्युतको ३० प्रतिशत र विश्वको २२ प्रतिशत विद्युत यस्तै ग्यासको सहयोगमा उत्पादन हुन्छ । यस्तो स्रोतले व्यापक रूपमा कार्बन उत्सर्जन गर्छ ।

हस्टनको बाहिरी भागमा रहेको नेटपावर नामक पेट्रोलियम तथा रिफाइनरी उद्योगले प्राकृतिक ग्यासबाट स्वच्छ ऊर्जा उत्पादन गर्ने विधि परीक्षण गरिरहेको छ । यस संस्थाले प्राकृतिक ग्यासबाट सस्तोमा ऊर्जा उत्पादन गर्ने र यस प्रक्रियामा कार्बन डाइअक्साइट समेत बाहिर आउन नदिने व्यवस्था गर्न सकिन्छ भन्ने मान्यतामा राखेको छ ।

यस कार्यमा एट रिभर्स क्यापिटल, एक्सन जेनरेसन र सीबीएण्डआई संलग्न छन् ।

८. पूर्ण अनलाइन गोपनीयता
तपाईंले आफ्ना अन्य विवरण नदिइकनै आफूले उचित ठानेको सूचना दिन हालको अवस्थामा कठिन छ । विवरण उपलब्ध गराउँदा गोपनीतिा भङ्ग हुने वा पहिचान चोरी हुने समस्या व्यापक छ ।

झकास, जेपी मोर्गन चेस तथा आइएनजीका कम्प्युटर बैज्ञानिक आफ्नो क्रिप्टोग्राफिक औजारलाई अब पूर्णतया सक्षम बनाउने प्रयासमा छन् । हाल अगाडि आइरहेको क्रिप्टोग्राफिक प्रोटोकलको नाम जिरो नलेज प्रुफ रहेको छ ।

बैङ्कहरूले आफ्ना ग्राहकको विस्तृत पहिचान नदिइकनै कारोबार गर्न यो प्रविधि उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ । गत वर्ष जेपी मोर्गन चेसले आफ्नै भुक्तानी प्रणाली प्रयोग गरेको थियो ।

यसो भए पनि यो प्रणाली मन्द गतिको र विश्वासिलो वातावरण चाहिने भएकाले यसलाई क्रिप्टोग्राफिक की आवश्यक पर्छ । यो की गलत हातमा पर्ने सम्भावना पनि हुन्छ ।

९. आनुवांशिक ज्योतिषी
आउँदा दिनमा शिशुका लागि जन्मनासाथ डीएनए प्रतिवेदन तयार हुनेछ । यस प्रतिवेदनको सहयोगले उनीहरूले हृदयाघात वा अर्बुद भोग्ने वा चुरोटको नसामा पर्ने वा औसत व्यक्तिभन्दा बढी क्षमतायुक्त हुने अवस्थाको अनुमान गर्न सकिन्छ । यस्तो खोजबाट आनुवांशिक विभेद सिर्जना हुने जोखिम रहने अनुमान गर्न थालिएको छ ।

हेलिक्स, २३ एन्ड मिरियड जेनेटिक्स, युकेबायोब्याङ्क, ब्रोड इस्टिच्युट यस्तो अनुसन्धानमा लागेका छन् र उनीहरूले दशौँ लाख व्यक्तिको आनुवांशिक परीक्षण गरेपछि यस्तो अवस्था देखेका हुन् ।

१०. वस्तुको क्वान्टम क्षमता
नयाँ क्वान्टम कम्प्युटर सिर्जना हुने सम्भावना बढेको छ र यस्तो कम्प्युटरको क्षमता वर्तमान मेसिनको भन्दा सोच्नै नसकिने गरी बढि हुने अनुमान गरिएको छ । आईबीएमले सेभेन क्युबिट क्वान्टम कम्प्युटर उपयोग गरी मोलेक्युलको इलेक्ट्रोनिक संरचना सिमुलेसन गरेको छ ।

मोलेक्युलको स्तरमा वास्तविक विवरण प्राप्त गर्न सकिँदा बढी प्रभावकारी औषधि तथा ऊर्जा उत्पादन र वितरणका लागि राम्रो सामग्री तयार गर्न सकिन्छ ।

यस क्षेत्रमा आईबीएम, गुगल तथा हार्वर्डको अलाँ अस्पुरु गुजिक जस्ता संस्था क्रियाशील छन् र यस्तो प्रविधि पूर्णरूपमा प्राप्त गर्न अझै ५ देखि १० वर्ष लाग्ने अनुमान गरिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित