काठमाडौं । हिन्दी र अंग्रेजी भाषा बोल्न दख्खल राख्छिन् उनी । नेपाली बोल्न जान्दिनन्, बुझ्ने क्षमता राख्छिन् । तर, नेपाली गायनमा कोही भन्दा कम छैनन् ।
दिपशिखा मिश्र, दश बर्षदेखि नेपालमा छिन् । बिहे भएपछि उनी पति अबानी कुमार नन्दासँग नेपाल आइन् । बसाई वीरगञ्जमा भयो । उडिया, बंगाली, हिन्दी भाषामा गीत गाइसकेकी उनले अस्ट्रेलियामा बस्दा बाल गायनमा पुरस्कार पनि पाएकी थिइन् ।
अहिले उनका नेपाली गीत युट्युवमा आउन थालेका छन् । गृहिणी भए पनि गायनमा उनको रफ्तार र यात्रा रोकिएन । नेपालमा बस्न थालेपछि उनले नेपाली भाषाकै गायनलाई लगनशीलताका साथ अगाडी बढाइन् ।
‘मलाई नेपाली भाषा मनपर्छ । म यो भाषालाई बंगाली जस्तै माया गर्छु । दश बर्ष भयो यहाँ बसेको’, उनी भन्छिन्,‘मलाई यो भाषामा गीत गाउने हिम्मत जाग्यो र गाउन थालें ।’

गायनमा तिक्ष्णता भए पनि मोफसलमा बसेका कारण मिडियामा उनी त्यत्ति छाएकी छैनन् । त्यसैले आफ्नो रहर र लगनशीलताले भारतमा प्रचार पाएको भए गति लिन सक्थ्यो भन्ने कहिलेकाहीँ लाग्छ । नेपालमा पनि धिमि गतिमा मिडियाले साथ दिएकोमै चित्त बुझाएकी उनी भन्छिन्,‘म अघि बढिरहेकी छु ।’
संगीतमा उनको प्रथम गुरु आमा हुन् । उनी थप्छिन्, ‘सानैदेखि गीत र नृत्य गर्न सौखिन थिएँ । बुवाले दुई मध्ये एक रोज्न भन्नुभयो । र, मलाई लाग्यो संगीत नै म सँधैभरी गर्न सक्छु । अनि यहि क्षेत्र छानेको हुँ ।’
बिहेपछि महिलाको अर्को जन्म हुने भएकाले आफ्नो गायनलाई चटक्कै माया मार्नु पर्ने हो की ? भन्ने चिन्ता उनलाई भएन । पति सहयोगीमात्र होइन, अझ साथ दिनका लागि उद्दत देखिए । त्यसपछि उनको गायन गति घरवारसँगै निरन्तर अघि बढ्यो । भन्छिन्,‘नेपालमा म जति पनि छु मेरा पतिको सहयोग र साथका कारण छु । बिहे गरेपछि कतिपयको सौख र चाहनाको अन्त्य हुन्छ । तर उहाँले धेरै सहयोग गर्नुभयो ।’
अञ्जु पन्तको गायनबाट नेपाली भाषामा गीत गाउने प्रेरणा मिलेको बताउने उनले नेपाली भाषामा गाएका कतिपय गीत युट्युवमा रिलिज भइसकेका छन् । सत्य र स्वरुपराज आचार्य उनका मनपर्ने नेपाली गायक हुन् । उनी भन्छिन्,‘मलाई यहि भाषामा गीत गाएर स्थापित हुने रहर छ ।’















प्रतिक्रिया