९ कार्तिक २०८३, सोमबार

नेकपाभित्र यसरी बदलियो समीकरण, कुन नेता कसको पक्षमा ?

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेतृत्वले पाँच पटकसम्म बैठक बोलाउने र स्थगित गर्ने गरिरह्यो। उकुसमुकुस वातावरणका बीच ५ महिनापछि स्थायी समिति बैठक बस्यो। यो बैठकमा नेताका गुट अदलबदल हुनसक्ने अनुमान थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

अध्यक्ष दाहालले आफ्नो पूर्वघटक समूहका नेतालाई बोलाएर तल्लो तहसम्मको पार्टी एकता र जनवर्गीय संगठनको एकता नटुंगिदासम्म नेतृत्वसँग अन्तरविरोध चर्काउन नहुनेमा सहमत गराए। त्यसैले बैठकमा नेताहरुको समीकरणमा उथलपुथल हुन पाएन।

वामदेव गौतमले भने पक्ष फेरे। उनी ओलीविरुद्ध उत्रिए। तर उनीनिकट मानिएका किरण गुरुङ र रघुवीर महासेठले सरकार र प्रतिवेदनको बचाउ गरे। पहिले नेपाल खेमामा रहेका श्रममन्त्री गोकर्ण विष्टले पनि सरकारको बचाउ गरे।

ओलीको आलोचना भएपनि अर्का अध्यक्ष दाहालको विरोध भएन। ‘पार्टी र सरकारको नेतृत्वमा रहेका कारण ओली नेताहरुको आक्रमणको निसानामा परेपनि अर्का अध्यक्ष प्रचण्डजी भने जोगिनुभयो,’ एक स्थायी समिति सदस्यले भने। दाहाललाई पूर्वसमूहका नेताले साथ दिएकाले पनि उनको आलोचना हुन पाएन।

स्थायी समिति सदस्य देव गुरुङका अनुसार बैठकले अब दुई विकल्पमा निर्णय दिन सक्छ। ‘पहिलो अध्यक्षद्वयले प्रश्नलाई समेटेर दस्तावेज परिमार्जन गर्ने, दोस्रो, कार्यदल बनाएर परिमार्जन गराउने,’ गुरुङले भने।

नेताहरुले धारणा राखिरहँदा उनीहरु विभिन्न धारको पक्षविपक्षमा खुले। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र त्यसमा वामदेव गौतमको फरक प्रस्ताव (उनले पूरक भनेपनि)मा नेताहरुले २० मिनेटका दरले बहस गरे।

४७ नेताहरुले निर्धारित समयका आधारमा कुल ९ सय ४० मिनेटको बहस गरे। माधव नेपाल र झलनाथ खनाल मात्र होइन, वामदेव गौतमको लिखित फरक दस्तावेजकै कारण पनि अध्यक्ष तथा प्रधानमन्त्री ओली चेपुवामा पर्ने अनुमान थियो।

तर अर्का अध्यक्ष दाहालले साथ दिएपछि अल्पमतमा पर्नबाट भने उनी जोगिए।