काठमाडौं, ९ पुस । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।
घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । रावल अझै थुनामा छन् भने विशाललाई शनिबार छाडिएको छ । प्रदीपलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले २० दिनदेखि सार्वजनिक अपराध मुद्दामा थुनामा राखेको छ ।
निर्मला घटनाको प्रमुख आधार भनेको डिएनए रिपोर्ट हो । स्रोतका अनुसार रावल र चौधरीको डिएनए रिपोर्ट कञ्चनपुर प्रहरीमा पुगिसकेको छ, तर खोलिएको छैन ।
स्रोतका अनुसार प्रदीप र विशाल दुवैको डिएनए म्याच भएको छैन । तर, दुवैले अपराध स्विकारेको र उनीहरूको भनाइ मिल्दोजुल्दो भएको प्रहरी दाबी छ ।
त्यही कारण प्रदीपलाई नछाडिएको एक प्रहरी अधिकारीले बताए । ‘प्रदीपले अपराध स्विकारेका छन् । उनीविरुद्ध थप प्रमाण संकलनमा प्रहरी लागेको छ । उनको बयानअनुसार डिएनए म्याच हुनुपर्छ भन्ने नै छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘घटनामा उनीहरूसहित अन्य व्यक्तिहरू संलग्न हुन सक्छन् ।’
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानमा डिएनए एउटा माध्यम मात्र भएको बताए ।
सामूहिक बलात्कार भएको र नमुना राम्रोसँग संकलन नभएको अवस्थामा डिएनए नमिल्नसमेत सक्ने उनले बताए । हाल सैनिकसहित थप १६ जनाको डिएनए परीक्षण गरिएको छ ।















प्रतिक्रिया