काठमाडौं, ८ पुस । पार्टी नेतृत्वले विधिविधान उल्लंघन गरेर पक्षधरताका आधारमा कसैलाई पेलेर सिध्याउन खोजे त्यसले समस्याको समाधान ननिकाल्ने नेता खनालको भनाइ थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नेपालले पार्टी विधानमा अझै विवाद देखिएको बताए । नयाँ टिम बनाएर छलफल गरी निक्र्यौल निकाल्नुपर्ने उनको भनाइ थियो । अध्यक्षद्वयको प्रतिवेदन अस्पष्ट भएको पनि उनले बताए । ‘प्रतिवेदन अस्पष्ट छ । पार्टीको न्यूनतम र अधिकतम कार्यक्रम प्रस्ट हुनुपर्छ,’ नेपालले भने, ‘अधिकतम कार्यक्रमको लक्ष्य समाजवाद बनाउनेगरी प्रतिवेदन परिमार्जन गर्नुपर्छ ।’
खनालले पनि आजको प्रतिवेदन आवश्यकता अनुसार नभएको भन्दै पुनर्लेखनको माग गरे । ‘प्रतिवेदन आजको आवश्यकताअनुसार आउँदै आएन, जनताको जनवादको कार्यक्रम अहिले ठीक छैन । त्यो पुरानो भइसक्यो । त्यसलाई समाजवादी कार्यभारतिर लैजानेगरी पुनर्लेखन गर्नुपर्छ,’ खनालले भने ।
नेपाल र खनालसहित अन्य नेताले पनि जारी स्थायी समिति बैठकमा नेतृत्वमाथि गुटबन्दीको आरोप लगाए । तर महासचिव विष्णु पौडेलले भने नेतृत्वको बचाउ गरेका छन् । शनिबार ५ पृष्ठको धारणा राख्दै पौडेलले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कोशिस गरेका थिए । उनले गुटबन्दीको विरोधका नाममा पार्टीभित्र गुटबन्दी हुन थालेको जिकिर गरेका छन् ।
‘कतिपय कमरेडहरुबाट पार्टीमा गुट रहेको, गुट रहने र गुटलाई मान्यता दिनुपर्ने दलिल सार्वजनिक रुपमा प्रस्तुत हुने गरेको छ । यही तर्कका आधारमा भेला, बैठक आयोजना गर्ने, त्यस्ता भेला वा बैठकमा निश्चित विषयहरुमा निश्चत प्रकारको धारणा बनाउने तथा पार्टीभित्र र बाहिर संगठित रुपममा प्रस्तुत हुने अभ्यास गरिँदैछ । गुटबन्दीको विरोधका नाममा गरिने यस प्रकारको गुटबन्दीलाई रोक्नैपर्छ । पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्छ,’ पौडेलको भनाइ थियो ।
सरकारले तुलनात्मक रुपमा राम्रो काम गरेको पौडेलको दाबी थियो । ‘खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन । त्यसैगरी खोजेको सरकार र भोगेको सरकार उस्तै हुँदैन । धेरै राम्रोको खोजी हुन्छ तर राम्रोमा चित्त बुझाउनु पर्छ । हामीले निर्माण गरेको व्यवस्था, सरकार र पार्टी तुलनात्मक रुपमा राम्रो छ,’ पौडेलले भनेका छन् ।
बैठकमा पौडेल स्थायी समिति सदस्यद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि खनिए । ‘कमरेडहरुले रगत, खकार र कुन्नि के के शब्दमा भन्न नसकिने चीजहरुको पनि परीक्षण गर्नुहुन्छ रे । कँहा छ, कमरेडहरुको त्यस्तो प्रयोगशाला ?’ पौडेलले लिखित भाषणमै भने, ‘कमरेड शंकर पोखरेलमाथि लगाइएको इमोसनल ब्याकमेलिङको आरोप अनुचित छ ।’
गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिवेदनको समर्थन गरे । उनले प्रतिवेदनले विकास र सुशासनका सही कार्ययोजना ल्याएको दाबी गरे । गृह मन्त्रालयले अहिलेसम्म गरेका कामको रिपोर्टिङ पनि उनले बैठकमा गरेका थिए । सिके राउतदेखि अतिवादीसम्मलाई नियन्त्रणमा लिएको, सिन्डिकेट अन्त्य गरेकोजस्ता कार्यका फेहरिस्त उनले सुनाए ।
अर्का नेता तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने पार्टीको अहिलेको विधि र प्रक्रियाले राम्रो गर्न नसकिरहेको धारणा राखे । सरकारले राम्रो गर्ने प्रयास गरेपनि पार्टीले थाहा पाउन नसक्दा प्रचार हुन नसकेको वताए ।
‘पार्टी र सरकार जोडिनुपर्छ । अहिले जोडिन नसकेको देखिन्छ । सरकारले राम्रै काम गरिरहेको छ । तर पार्टीलाई थाहा नभएजस्तो देखिएको छ,’ उनले भने ।
शनिबारसम्म ४६ जना नेताले धारणा राखिसकेका छन् । अब परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले मात्र प्रतिवेदनमाथि बोल्न बाँकी छ । आइतबार दुई अध्यक्षले जवाफ दिने कार्यक्रम छ । जर्नादन शर्मा र देवेन्द्र पौडेल भने अमेरिकामा रहेका कारण बैठकमा सहभागी छैनन् । आइतबार वरिष्ठ नेता नेपालले पिस फेडेरेसनको कार्यक्रमबारे समेत बोल्ने बताइएको छ ।















प्रतिक्रिया