काठमाडौं, ६ पुस । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हेलिकप्टर किन्न अघिल्लो वर्ष साउन १३ गते नै रक्षा मन्त्रालयले स्विकृति दिएको बताए ।
‘दुरुपयोग हुन नदिन गृह मन्त्रालयको लिखित स्वीकृतिमा मात्रै हेलिकप्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अघिल्लो सरकारकै पालामा हेलिकप्टर खरिदका लागि प्रतितपत्र खोल्ने निर्णयसमेत भएको हो ।’
उनले हेलिकप्टर खरिदको विषय राष्ट्रपतिलाई जानकारी नभए पनि राष्ट्रपतिको नाम मुछिएकामा असन्तुष्टि व्यक्त गरे । ‘हामीले ल्याएको र सम्मान दिनुपर्ने संस्थालाई बदनाम गर्नु गणतन्त्रप्रतिकै वितृष्णा हो,’ उनले भने, ‘यो हेलिकप्टर राष्ट्रपतिका लागि होइन ।’
उनले सरकारका मन्त्रीहरूले इन्धनबापत दोहोरो सुविधा लिने गरेको र आफ्ना स्वकीय सचिवलाई पनि इन्धन सुविधा दिलाउने गरेको भनी सार्वजनिक समाचारप्रति पनि रक्षात्मक बने ।
‘मन्त्रीहरूको सुविधा तोकिएको मापदण्डअनुसार नै भएको हो,’ उनले भने, ‘दोहोरो सुविधा परेको भए विचार गर्नुपर्छ ।’















प्रतिक्रिया