१० कार्तिक २०८३, मंगलबार

निर्मला पन्त प्रकरणमा १८ प्रहरीमाथि विभागीय कारबाही तयारी, अझै भेटिएनन् अभियुक्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार प्रहरी प्रधान कार्यालयमातहतको कानुन विभागले उनीहरूमाथि कारबाही चलाउन लागेको हो ।

समितिले एसपी विष्ट, डीएसपीहरू अंगुर जीसी र ज्ञानबहादुर सेटठी, इन्स्पेक्टरहरू एकेन्द्र खडका, जगदीश भट्ट र गणेश सापकोटा, ४ सई, ३ हवल्दार र ५ कन्स्टेबलमाथि विभागीय कारबाही सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाइएको प्रतिवेदन कानुन शाखामा पठाइएको छ । प्रतिवेदनले दोषी ठहराएकालाई अब कानुन शाखाले विभागीय कारबाही गर्नेछ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा खटिएका प्रहरीविरुद्ध परेको जाहेरी दरखास्त फौजदारी कसुरका रूपमा अघि बढ्ने र उक्त मुद्दाको सुनुवाइका क्रममा पनि यो प्रतिवेदन प्रयोग हुनेछ ।

एआईजी बस्न्यात नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा घटनास्थलको सुरक्षा प्रबन्ध नगरिएको, प्रमाण संकलनको चेन अफ कस्टडी पूरा नगरिएको, अनुसन्धानमा कुकुर प्रयोग नगरिएको, मृतकका साथमा फेला परेको अम्बा बरामद नगरेको, मृतकको शरीरबाट सुरुवाल निकालेर धोएको जस्ता कैयौं गल्ती औंल्याइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८, निम्बुखेडास्थित उखुबारीमा साउन १० गते निर्मलाको शव फेला परेको थियो ।

प्रतिवेदनमा घटनाको सूचना पाउनेबित्तिकै र शव फेला परेपछि पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख घटनास्थलमा नपुगेको, जिप्रका प्रमुख दिल्लीराज विष्टले कार्यालय सञ्चालनमा समेत कैयौं त्रुटि गरेको उल्लेख छ ।

अपराध अनुसन्धानको तालिमै नलिएका इन्स्पेक्टर एकीन्द्र खडकालाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान तालिम शाखा प्रमुख बनाएको पाइएको छ ।